Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ढुक्क हुनुहोस्, लगानी गर्नुहोस् : दाहाल


0
Shares

काठमाडौं, चैत १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताएका छन् ।

लगानी सम्मेलनमा सहभागी स्वदेशी एवं विदेशी लगानीकर्तालाई उनले भने–‘ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।’

लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुनेगरी कानुनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताए ।

उनले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गरे ।

राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उनले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गरे ।

अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौं सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताए ।

यस्तै, सम्मेलनले पनि नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने संस्थागत गरेको र लगानीका लागि योग्य स्थान हो भन्ने तथ्य स्थापित गरेको उनले दाबी गरे ।

नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पस्ट पार्दै उनले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताए ।

दक्षिण एसियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भने–‘मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।’

बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको अध्यक्ष दाहालको भनाइ थियो ।

ऊर्जा, पर्यटन, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको स्पस्ट पार्दै उनले सबै प्रकारका लगानीकर्तालाई खुला हृदयका साथ लगानी गर्न आग्रह गरे ।

सार्वजनिक–निजी क्षेत्र साझेदारीले पनि लगानीकर्ताका लागि सहजीकरण गरेको र विदेशी लगानीले आन्तरिक लगानीलाईसमेत थप अभिवृद्धि गर्ने उनको भनाइ थियो ।

नेपालको आफ्नै विशिष्टतामा शान्ति–प्रक्रिया सम्पन्न भएको र त्यसको ऐतिहासिक महत्व रहेकोसमेत अध्यक्ष दाहालले सम्मेलनलाई जानकारी गराए । रासस