
बारा, चैत १६ । प्रदेश नम्बर–२ मा एसइई परीक्षा स्थगित भएपछि आक्रोशित विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
शनिबार बाराको जितपुरमा गरिएको प्रदर्शनकाक्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपकाक्रममा आधा दर्जन विद्यार्थी र केही प्रहरी घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै हवाईफायरसमेत गरेको थियो ।
घाइते विद्यार्थी रमीला चौधरीलाई उपचारका लागि वीरगन्ज लगिएको छ । अरु घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आगजनी र तोडफोड
आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरीको ना१झ ७१२ नम्बरको भ्यान र प्रहरीको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
एउटा ट्रक र दुईओटा कारमासमेत तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ढुंगामुढापछि झडप
विद्यार्थीहरुले सडकमा टायर बालेर नाराबाजी गरेका थिए ।
उनीहरुले इलाका प्रहरी कार्यालय जितपुर घेराहाली ढुंगामुढा गरेपछि झडप सुरु भएको थियो ।
विद्यार्थीहरुले कलैया र सिमरामासमेत सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण पथलैया–वीरगन्ज राजमार्ग ठप्प भएको थियो ।
जितपुरका सम्पूर्ण पसलहरु बन्द भए । विद्यार्थीहरुले एम्बुलेन्सबाहेक कुनैपनि सार्वजनिक सवारी–साधनहरु चल्न दिएनन् ।
८ प्रदर्शनकारी नियन्त्रणमा, स्थिति सामान्य बन्दै
प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको र स्थिति सामान्य बन्दै गएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
एसइई परीक्षाको प्रश्नपत्रहरु धमाधम बाहिरिएपछि सरकारले प्रदेश–२ को बाँकी परीक्षा स्थगित गरेको छ ।
शिक्षा मन्त्रालयको शुक्रबार बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्