Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लगानी सम्मेलनको दोस्रो दिनः लगानीको सुरक्षाप्रति चिन्ता नगर्न आग्रह


0
Shares

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट शुरु भएको लगानी सम्मेलन आज पनि जारी छ ।

सम्मेलनको दोस्रो तथा अन्तिम दिन आजको सत्रमा सहभागीहरुले लगानीको अवसर र सम्भावनाबारे छलफल गर्दैछन् । नेपालको यातायात तथा पूर्वाधार, कृषि क्षेत्रमा छलफल भएको छ ।

छलफलमा स्वदेशमा लगानी गरिरहेको विदेशी लगानीकर्ताहरुको अनुभव आदानप्रदान पनि भइरहेको छ ।

सरकारी अधिकारीहरुले कुनै पनि क्षेत्रमा लगानीका लागि अवसर रहेको र लगानीको सुरक्षाप्रति चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गरिरहेको छ ।

कृषिमन्त्री चक्रपाणी खनालले नेपाल विकासिल राष्ट्र भएकाले लगानीको संभावना हरेक क्षेत्रमा रहेको बताए ।

उनले यस क्षेत्रमा पर्याप्त संभावना र सुरक्षित वातावरण रहेको भन्दै कृषिमा लगानीका लागि आग्रह भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले यातायात पूर्वाधारमा लगानीको अवसरबारे लगानीकर्तालाई आग्रह गरे ।

दोस्रो दिनको सम्मेलनमा पूर्वाधार, कृषि क्षेत्रमा लगानी र अवसरका विषयमा छलफल भइरहेको छ भने अन्तर्राष्ट्रिय अनुभव पनि आदानप्रदान भइरहेको छ ।

हिजो सातवटा सत्रमा लगानीका अवसर र क्षेत्रबारे सरकार र नेपालको निजी क्षेत्रले सहभागीहरुलाई जानकारी गराएका थिए ।

सम्मेलनका क्रममा लगानीकर्तालाई देखाउन यातायात,शहरी,कृषि पूर्वाधार, शिक्षा र स्वास्थ्य, औद्योगिक पूर्वाधार, हवाई पूर्वाधार, पर्यटन र उर्जाका आयोजना छनोट सोकेसका रुपमा राखिएका छन् । लगानीकर्ताले आफूलाई मन परेको आयोजना निर्माण वा लगानी गर्न सक्ने बोर्डले जनाएको छ ।

त्यही प्रकृतिको आयोजना निर्माणको अनुभव भएको र आयोजनाको कूल लागतको एक तिहाइ खुद सम्पत्ति भएका कम्पनीले मात्र परियोजनामा लगानीका लागि प्रस्ताव दिन पाउने मापदण्ड तोकिएको लगानी वोर्डले जनाएको छ ।

सम्मेलनमा १२ वटा परियोजनाका लागि सम्झौता र समझदारी हुने छ भने गैरआवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गर्न सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्मेलनको उपलब्धी घोषणा गरी आज साँझ सम्मेलन सम्पन्न हुने छ ।