-विराज रोस्यारा/ईमेज
कञ्चनपुर । स्थानीय सरकार गठन भइसके पनि कञ्चनपुरको लालझाडी गाउँपालिकाको जनजीवन खासै सुधार हुन सकेको छैन ।
सदरमुकामबाट नजिकै रहे यातायातका साधन नचल्दा स्थानीय दैनिक जीवनयापन नै सास्तीपूर्ण बनेको हो ।
स्थानीय सरकार गठन भइसकेपछि अधिकांश स्थानीय तहमा सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
जसअनुसार नयाँ सडक सञ्जाल खुल्ने र भएका सडकहरुको व्यवस्थित गर्ने काम भइरहेको छ ।
तर कञ्चनपुरको लालझाडी गाउँपालिकामा सडक निर्माण भए पनि सार्वजनिक सवारीका साधन सञ्चालन नहुँदा जनताको जीवनमा कुनै सुधार आएको छैन ।
दैनिक उपभोग्य बस्तु किनमेल गर्न, उत्पादित वस्तु बजार पुर्याउन, आवतजावत गर्न तथा अस्पताल जान बढी समस्या परेको छ ।
सवारी साधनको नचल्दा गोरुगाडा, साइकलको माध्यमबाट आफ्नो गुजारा चलाउनुपरेको छ ।
सडक बनेपनि जनप्रतिनिधिको बेवास्ताका कारण आफूहरु समस्यामा परेको स्थानीयको गुनासो छ ।
यता लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन वडायक भने आफूहरु आइसकेपछि गाउँको मुहार नै फेरिएको दाबी गर्छन ।
सार्वजनिक सवारीका साधन सञ्चालनका लागि विभिन्न यातायात समितिसँग छलफल भइरहेको र आगामी आर्थिक वर्षदेखि सवारी साधन चलाउने तयारी गरेको उनको भनाइ छ ।
सुदुरपश्चिम प्रदेशको अस्थाइ राजधानी धनगढीबाट १० किलोमिटरको दुरीमा पर्ने यहाँका स्थानीयले निकै सकसपूर्ण जीवन बिताइरहेका छन् ।
सामान्य स्तरका यस्ता सुविधाबाट जनतालाई वञ्चित गर्नु हुँदैन । त्यसको लागि जनप्रतिनिधिले तदारुकताका साथ ठोस कदम चाल्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्