काठमाडौं । पूर्वअर्थमन्त्री डा रामशरण महतले गरीबी निवारणमा नेपालले उल्लेख्य प्रगति गरेको दावी गरेका छन् ।
काठमाडौंमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले मानवविकास सूचंकमा नेपालले लगातार सफलता हासिल गर्दै आएको बताएका हुन् ।
पूर्वअर्थमन्त्री डा महतले यतिखेर नेपाल केवल १५ प्रतिशतमात्रै गरिबीको रेखामुनी रहेको दावी गरे । गरीबी निवारणमा नेपालले नेतृत्व गरेको र दक्षिण एशियामा नै अग्रस्थानमा रहेको तथ्य पेश गर्दै उनले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषणले पनि गरीबी निवारणमा सहयोग गरेको जानकारी दिए ।
विसं २०४६ को परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि अभिप्रेरित गरिएको तथ्य पेश गर्दै पछिल्लो दिनमा निजी क्षेत्रले हवाई, दूरसञ्चार तथा ऊर्जा क्षेत्रमा ठूलो सफलता हासिल गरेको उनको भनाइ थियो ।
नेपालले विगतका दुई दशकमा राजनीतिक अस्थिरता, भूकम्प जस्ता ठूलो समस्या भोगेको उल्लेख गर्दै ती समस्याबाट बाहिर निस्केर नेपाल अहिले नयाँ स्थानमा आइपुगेको डा. महतको भनाइ थियो ।
आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर भएको भन्दै उनले स्वदेशी लगानीले मात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी जरुरी रहेको बताए ।
सम्मेलनमा दर्जनाँै भौतिक पूर्वाधारसँग जोडिएका परियोजना पेश गरिएको जानकारी दिँदै उनले धेरै क्षेत्रमा लगानी गर्न सकिने बताए । नेपालमा कडा परिश्रम गर्नसक्ने जनशक्ति रहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालीले ख्याती कमाएको भन्दै उनले नेपाल स्वच्छ ऊर्जाको पावरहाउस रहेको बताए ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा ऊर्जा आदानप्रदानका लागि सहमति भएको, बङ्गलादेशसँग पनि सहमति भएको तथ्य पेश गर्दै उनले नेपालमा कृषि, जडीबुटी, उच्च मूल्यप्राप्त हुनसक्ने खेतीसमेत गर्न सकिने स्पष्ट पारे । (रासस)









प्रतिक्रिया दिनुहोस्