१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


पढ्न नपाएको झोंकमा क्याम्पसमा तोडफोड, राजमार्ग अवरुद्ध


0
Shares

सिन्धुली, कात्तिक २९ । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा सोमबार विद्यार्थीले तोडफोड गरेका छन् ।

लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

क्याम्पसमा आएपनि सधैं त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक गेटमा लगाएको ताला फोरेका छन् भने क्याम्पसका केही फर्निचरसमेत भाँचिदिएका छन् ।

दसैं, तिहार र छठ बिदापछि कात्तिक २२ गतेबाट क्याम्पस सन्चालन भएपनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या झन्डै ६ महिनादेखि रहेको विद्यार्थीको भनाइ छ ।

आफूहरुले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने, नभए लिएको पैसा क्याम्पसले फिर्ता गर्दै आफूहरुलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीको माग छ ।

कात्तिक २२ गतेबाट नियमित क्याम्पस खुलेको भएपनि पठनपाठन नहुँदासम्म पनि सम्बन्धित निकाय मौन बसिरहेका छन् ।

विद्यार्थी संघठनले पनि क्याम्पसमा पठनपाठन नियमित गर्न पहल नगरेको विद्यार्थीको आरोप रहेको छ ।

एक सय विद्यार्थीको हाराहारीमा निक्लिएको जुलुसले क्याम्पस हातामा तोडफोड गर्‍यो भने बीपी राजमार्गअन्तर्गत् कमलामाई नगरपालिका–९ ढुंग्रेवासमा पढ्न नपाएको झोंकमा केहीबेर राजमार्ग अवरुद्ध बनाए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई तितरवितर पारेपछि राजमार्ग खुलेको थियो ।

क्याम्पसको विधान संशोधन गर्दै प्राध्यापकहरुको उपदान कटौती गर्ने गरी संशोधन गरिएपछि आन्तरिक विवाद र समस्या चुलिएको हो ।

सिन्धुली बहुमुखी क्याम्पसका २२ जना प्राध्यापकले विधान संशोधन भएको विषयलाई लिएर क्याम्पस प्रमुखको राजीनामा माग गर्दै व्यवस्थापन समितिसमक्ष भदौमा सामूहिक राजीनामा बुझाएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

क्याम्पस प्रमुखले राजीनामा नदिएसम्म प्राध्यापकले पठनपाठन ठप्प पारेपछि क्याम्पस प्रमुख मीमप्रसाद घिमिरेले असोजमा राजीनामा दिएको क्याम्पस प्रशासनको भनाइ छ ।

क्याम्पस प्रमुखले राजीनामा र प्राध्यापकको राजीनामा दुबै महिनौंसम्म विचाराधीन अवस्थामा छन् । रासस