काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीलेमात्रै विकास गर्न धेरै समय लाग्ने भन्दै विदेशी लगानी खोजिरहेको बताएका छन् ।
लगानीका लागि कानुनी, व्यावहारिक र प्रशासनिक कार्यलाई सरल बनाइएको उनको भनाइ छ ।
आठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अन्यत्रभन्दा लगानीका लागि नेपाल धेरै उपयुक्त रहेको बताए ।
विकासका लागि पुँजी र प्रविधि खोजिरहेको भन्दै उनले त्यसका लागि लगानी सम्मेलन आयोजना गरिएको बताए ।
उनले स्वदेशी लगानीकर्तालाई विदेशीलाईभन्दा बढी प्राथमिकता दिइने पनि बताए ।
मेला आयोजक नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाललाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन् ।
यसले व्यावसायिक सम्बन्ध विस्तारमासमेत अवसर दिने उनको भनाइ थियो ।
महासंघले योपटकको मेलामा पनि प्रदर्शनीस्थलबारे कुरा उठायो । अध्यक्ष राणाले कमजोर पूर्वाधारका कारण इच्छा देखाएर पनि जापान र थाइल्यान्डबाट मेलामा सहभागी नभएको जिकिर गरिन् ।
मेलामा नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानी उत्पादन राखिएका छन् ।
मेलामा २२५ ओटा अवलोकनकक्ष रहेको महासंघले जनाएको छ ।
मेला आउँदो सोमबारसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्