२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


नेपाली भूमिबाट चीनविरोधी कुनैपनि गतिविधि हुन दिँदैनौं : उपप्रधानमन्त्री महरा


0
Shares

काठमाडौं, मंसिर ३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्णप्रतिबद्ध रहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीनविरोधी कुनैपनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे ।

उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगप्रति उच्चसम्मान प्रकट गरे ।

नेपालको विकास र समृद्धिका लागि आगामी दिनमा पनि चीनबाट थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले राससलाई जानकारी दिए ।

चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्री महराले बताए ।

सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् । रासस