Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


३८ जिल्लाको नक्सांकन सकियो


0
Shares

काठमाडौं, मंसिर ३ । स्थानीय तह पुनःसंरचनाका लागि गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लास्थित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले पठाएको पुनःसंरचनाको नक्सांकन गर्ने कार्य थालेको छ ।

आयोगको मापदन्डअनुसार प्राविधिक समितिले पठाएको पुनःसंरचनाको नक्सांकन गर्ने कार्य भइरहेको आयोगका सदस्य माधवप्रसाद अधिकारीले जानकारी गराए ।

उनका अनुसार अहिले आयोगमा प्राप्त भएका ५४ जिल्लाको नक्सांकनको काम भइरहेको छ ।

‘समितिले पठाएको पुनःसंरचनालाई हामीले नक्सा हेरी अन्तिम नक्सांकन गर्ने कार्य गरिरहेका छौं’–उनले भने–‘त्यही पुनःसंरचनालाई हामीले नक्सांकन गरेर सरकारलाई बुझाउँछौं ।’

आयोगले समितिले पठाएको पुनःसंरचनालाई सफ्टवेयरमा राखेर नेपालको नक्साबमोजिम भौगोलिक र जनसंख्या हेरेर नक्सांकन गर्ने गरेको छ ।

आयोगका भौगोलिक सूचनाविज्ञ भोलानाथ ढकालले अहिलेसम्म ३८ जिल्लाको नक्सांकन सकिएको जानकारी गराए ।

उनका अनुसार तीमध्ये १२ जिल्लाका समितिलाई आयोगले गरेको नक्सांकन प्रमाणित गर्नका लागि पठाइएको र २६ जिल्लाको पुनःसंरचनालाई पनि केही दिनमा पठाइने छ ।

आयोगले नक्सांकन पुनःसंरचना मिले/नमिलेको हेर्नसम्बन्धित जिल्लाका समितिलाई जिल्लामा पठाउने गर्दछ । समितिले तीन दिनभित्र सोको लिखित जवाफ पठाउनुपर्ने हुन्छ ।

आयोगले मंसिरको दोस्रो सातासम्म नक्सांकनसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको आयोगका सदस्य अधिकारीले जानकारी गराए । रासस