काठमाडौं, चैत १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला र संस्कृति देशको शान भएकाले यसको जगेर्ना र सम्वर्द्धन गर्नु आवश्यक रहेको बताएका छन् ।
बुधबारदेखि ललितपुरमा सुरु भएको कला तथा संस्कृति महोत्सवको उद्घाटन गर्दै उनले देशको पहिचानमा टेवा पुर्याउँदै आएको कला, संस्कृतिको संरक्षणमा सरोकारवाला निकाय सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई हस्तकला नगरी घोषणा गरेको अवसरमा ललितपुर महानगरपालिका वडा नम्बर–१६ मा वृहत् कला तथा सांस्कृतिक महोत्वस आयोजना गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
यस वडाका ६० प्रतिशतभन्दा बढी जनसंख्या हस्तकला उत्पादन र व्यवसायमा केन्द्रित भएकाले सांस्कृतिक एवं हस्तकलाको वडाकारुपमा विकास गर्ने लक्ष्यसाथ यो महोत्सव आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
महोत्सवमा जीवित देवी कुमारी दर्शनका साथै धातुकला, काष्ठकला, चित्रकला, मूर्तिकला, तामाका भाँडाकुडा, विभिन्न संस्कारमा बज्राचार्य पूजाविधि, परम्परागत भेषभूषादेखि रातो मच्छिन्द्रनाथको रथ बनाउने विधिसमेत प्रदर्शनी गरिने जनाइएको छ ।
पाँच दिनसम्म चल्ने महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रमका साथै विभिन्न नेवारी परिकारको स्टलसमेत रहने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्