
कालिकोट, हुम्ला, मंसिर ६ । कर्णाली अञ्चलका विभिन्न जिल्लाका बालबालिका कुपोषणका कारण दयनीय अवस्थामा पुगेका छन् ।
दुर्गम जिल्ला कालिकोटमा ४ सय ५९ बालबालिकामा कडा खाले कुपोषण देखिएको छ । यस्तो खाले कुपोषण कम गर्न एकीकृत व्यवस्थापन कार्यक्रम लागु गरिए पनि परिणाम भने राम्रो आएको छैन ।
तालिम प्राप्त स्वास्थ्यकर्मीले जिल्लाका ३० वटै स्वास्थ्य संस्थामार्फत कडाखाले कुपोषण भएका बालबालिकाको पहिचान गरेर उक्त तथ्यांक फेला परेको हो ।
कुपोषण भएका ३ सय १ जना बालबालिकाको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
जिल्लाका राँचुली, गेला, मान्म, धौलागोह, स्यूना, मेहेलमुडी, रकू र कुमालगाउँका स्वास्थ्य केन्द्रमा बहिरंग सेवा सञ्चालन गरी उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।
त्यस्तै, हुम्ला जिल्लामा पनि कुपोषण हुने बालबालिकाको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको तथ्यांक अनुसार विगत बर्षभन्दा यस बर्ष कुपोषण हुने बालबालिकाको संख्या बढेको हो ।
जिल्लाका ६३ प्रतिशत बालबालिकामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
कडा कुपोषणको उपचारका लागि जिल्लाका ५ स्थानमा बहिरंग सेवा केन्द्र स्थापना गरी उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा हुम्लाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्