दाङ, मंसिर ७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमाले र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले त्यसको लागि कांग्रेस पहिले एक ढिक्का हुनुपर्ने बताए ।
‘सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत कांग्रेसमा छ, त्यसको भूमिका कांग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्छ,’ उनले भने ।
डा. कोइरालाले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको बताए ।
कोइरालाले देशको हरेक परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए । उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको बताए ।
कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्ने बताए ।
कोइरालाले साविकका गाविसलाई गाउँपालिका मानेर निर्वाचनमा जानुपर्ने सुझाव दिए । (रासस)









प्रतिक्रिया दिनुहोस्