
गुल्मी, मंसिर ७ । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्युपछि दुई छोरी किरिया बसेका छन् ।
पुर्कोट दह–१ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए ।
कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मंसिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
‘प्रसूति अवस्थामा पक्षघातलेसमेत थलापारेपछि उनकोे मृत्यु भएको हो’–दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भने–‘अहिले १३ वर्षकी संगीता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् ।’
गाउँलेकै सल्लाहअनुसार श्रीमान्लाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो ।
आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उनले बताए ।
उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सन्चालन गरिरहेका सिर्सेनी गाविस–९ का विश्व भुसालले बताए ।
दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् ।
आर्थिक अभावका कारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल पर्याइएपनि बढी खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् ।
अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पुर्याउन रकम संकलन गरिरहेकाले सहयोग गर्न आग्रह गर्दै शिक्षक कुँवरले भने–‘मेरै नेतृत्वमा सहयोग संकलनको काम गरिरहेका छौं र केही रकम संकलन पनि भएको छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्