Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सांसदको तलब–भत्ता वृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने


0
Shares

काठमाडौं, मंसिर ७ । सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।

अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेविसंघ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको जानकारी दिइयो ।

बैठकको निर्णयअनुसार बुधबार दिउँसो ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ ।

त्यस्तै, सरकारले गरेको निर्णय फिर्ता गराउने उद्देश्यअनुरुपको ज्ञापनपत्र सभामुखलाई बुझाउने कार्यक्रम छ ।

हाल सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा रहेकाले उनी आएपछिमात्र ज्ञापनपत्र बुझाइने बताइएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याकाबीच सांसदहरुको तलब बढाएर सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम गरेको’ बताए ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले यो निर्णयमा पुनःविचार नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

त्यसैगरी, अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब–सुविधा आफैंले बढाउनु नैतिकताहीन काम भएको टिप्पणी गरे ।

‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो ।

योसँगै हरेक सांसदले गत साउन महिनादेखि लागू हुने गरी मासिक रु एक लाखभन्दा बढी तलब–भत्ता बुझ्नेछन् । रासस

Skip This