
काठमाडौं, मंसिर ८ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको माग पुरा गराउन दबाव दिने उद्देश्यले चिकित्साशास्त्र अध्ययन संस्थान अन्र्तगतका आवासीय चिकित्सक तथा विद्यार्थीहरुले बुधबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा धर्ना दिएका छन् ।
बरिष्ठताको आधारमा चिकित्शाशास्त्र अध्ययन संस्थानको डिन नियुक्त गरिनुपर्नेमा राजनीतिक भागभण्डामा डिन नियुक्त गरिएको भन्दै उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तिर्थ खनियाको कार्यकक्षको मूल गेटमा धर्ना दिएका हुन् ।
धर्नाको नेतृत्वको त्रिवि अन्र्तगतको आवासीय चिकित्सक संघ तथा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले गरेको थियो ।
धर्नामा सहभागीहरुले डा. गोविन्द केसीले उठाउँदै आएका माग पुरा गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने, हालका डिन के.पी सिंहलाई हटाएर बरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्नेलगायतका माग लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस्