Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ललितपुर महोत्सवमय हुँदै


0
Shares

काठमाडौं, चैत ११ । ललितपुर महानगरपालिका वडा नम्बर–१६ मा यही चैत १३ गतेदेखि वृहत् कला तथा सांस्कृतिक महोत्वस हुने भएको छ ।

वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५औं हस्तकला नगरी घोषणा गरेको अवसरमा उक्त महोत्सव हुन लागेको हो ।

१६ नम्बर वडा विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र, लिच्छविकालीन, मल्लकालीन मूर्त–अमूर्त सम्पदा संस्कृतिले भरिएको वडा हो ।

६० प्रतिशतभन्दा बढी जनसंख्या हस्तकला उत्पादन र व्यवसायमा केन्द्रित भएकाले सांस्कृतिक एवं हस्तकलाको वडाकारुपमा विकास गर्ने लक्ष्यसाथ वडा कार्यालयले सो महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा जीवित देवी कुमारी दर्शनका साथै धातुकला, काष्ठकला, चित्रकला, मूर्तिकला, तामाका भाँडाकुडा, परम्परागत भेषभूषादेखि रातो मच्छिन्द्रनाथ बनाउने विधिसमेत प्रदर्शनी गरिनेछ ।

मल्लकालीन परम्परा अष्टमातृका नाचका देवी–देवताको मुखाकृति पनि प्रदर्शनमा राखिनेछ भने बज्राचार्य पूजाविधिले जन्मदेखि मृत्युपश्चातको संस्कारमा प्रयोग हुने पूजा सामग्री र विधि प्रदर्शन गरिनेछ ।

स्थानीयले मनाउने विभिन्न चाडपर्व बोध गराउने सामग्रीको प्रदर्शन गरिनुका साथै चर्या नृत्य तथा सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षण हुनेछ भने विभिन्न सांस्कृतिक बाजाहरुको प्रदर्शनीका साथै लाखेनाच पनि नचाइनेछ ।

पाँच दिनसम्म बिहान १० बजेदेखि राति ८ बजेसम्म हुने यस महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम हुनुकै साथै विभिन्न नेवार परिकारको स्टल रहने तथा प्रवेश निःशुल्क हुने आयोजकले जानकारी गराएको छ ।