Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लगानी सम्मेलन अन्तिम चरणमा, ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, चैत ११ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशीला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गरेको हो ।

सम्मेलन यही चैत १५ र १६ गते हुने भएको छ ।

४० देशका ६०० भन्दा बढी लगानीकर्तालाई नेपाल भित्र्याएर लगानीको वातावरण बनेको जानकारी दिनेमात्रै सम्मेलनको उद्देश्य नभइ ६६ आयोजनाका सूचीसमेत प्रस्तुत् गरेर लगानीका लागि आकर्षित गर्ने अभिप्राय सरकारको छ ।

सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत् गरिनेछ ।

सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, कृषि, सूचना–प्रविधि, औद्योगिक, शिक्षा र स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

मुलुकको समृद्धिको प्रमुख आधारकारुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी ८ ठूला परियोजना पनि छनोट गरिएको छ ।

त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोसी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाकारुपमा राखिएको छ ।

लगानी बोर्डकाअनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची गत आइतबारमात्रै टुंगो लगाइएको हो ।

सम्मेलनको संयोजन गरिरहेको लगानी बोर्डले हाल निर्माणाधीन अवस्थामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको पछिल्लो अवस्थाबारे सम्मेलनमा जानकारी गराउने भएको छ ।

यस्तै, निर्माण गरिने तयारीमा रहेको बूढीगन्डकी जलाशयुक्त आयोजना पनि अर्को आकर्षणको विषय बन्ने भएको छ ।

अघिल्ला सम्मेलनमा आयोजनाको अवस्थाकाबारेमा जानकारी नदिइ केवल सैद्धान्तिकरुपमामात्रै प्रस्तुत् गर्ने गरिएकामा यसपटकको सम्मेलनमा भने लगानीकर्तालाई परियोजनाको सम्पूर्ण जानकारी र अवस्थाबारेसमेत अवगत गराइनेछ ।

यसपटकको सम्मेलन परियोजनाको विविधता पनि भएकाले विगतका सम्मेलनभन्दा फरक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको भनाइ छ ।

सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, विभिन्न मन्त्रालयका मन्त्री तथा उद्योगी–व्यवसायीले नेपालको पछिल्लो अवस्था र लगानीको वातावरणकाबारेमा जानकारी दिने भएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबारमात्रै नयाँबानेश्वरस्थित संघीय संसद भवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै लगानी सम्मेलन उत्साहजनकरुपमा सम्पन्न हुने र सरकारको अपेक्षाअनुसार नै लगानी भित्रने विश्वास व्यक्त गरेका छन् ।

राजनीतिक संक्रमणकालको अन्त्य भइ देशमा स्थीर सरकार बनेको सन्दर्भमा आयोजना गरिएको सम्मेलनले सरकारको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

विदेशी लगानीकर्तालाई सहज वातावरण बनाउने लक्ष्यका साथ संघीय संसदले सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरिसकेको छ ।

यस्तै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाईसमेत संघीय संसदले पारित गरिसकेको छ ।

वैदेशिक लगानीका लागि लगानीकर्ताले उठाउँदै आएका कानुनी तथा नीतिगत उल्झनसमेत फुकाइसकिएको अवस्थामा सम्मेलनमा सहभागी लगानीकर्तालेसमेत आफूले इच्छाएको परियोजनामा लगानी गर्नसक्ने वातावरण बनेको छ ।

‘सो केस’

सरकारले अध्ययन गरिरहेका पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं पोखरा रेलमार्ग, काठमाडौं मेट्रो रेलदेखि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पतालसम्मका परियोजना ‘सो केस’कारुपमा सम्मेलनमा प्रस्तुत् गरिनेछ ।

यस्तै, निजी क्षेत्रले अध्ययन गरिरहेका त्रिशूली–गल्छी, मध्यकालीगन्डकी, इन्गवा खोला, माथिल्लो चमेलिया, म्याग्दी खोलाजस्ता आयोजना पनि आकर्षणकारुपमा रहेका छन् ।

लगानीकर्तालाई सहज सेवा दिने लक्ष्यका साथ लगानी बोर्डमा नै एकल विन्दु सेवा दिइने भएको छ ।

सम्मेलनमा नै केही आयोजनासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ ।

धेरै देशका लगानीकर्तालाई आमन्त्रण गरेर आयोजना गरिएको सम्मेलन आफैंमा बहुआयामिक महत्वको रहेको छ ।

चालू आर्थिक वर्षको सात महिनामामात्रै रु एक खर्ब ७३ अर्ब बराबरको वैदेशिक लगानी भित्रिएको छ ।