काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको नेकपा माओवादी केन्द्रको पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष दाहालले सकेसम्म मंगलबारै मन्त्रिपरिषदको बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिए ।
प्रधानमन्त्रीले भने–‘संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ ।’
बैठकमा उनले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलकाबारेमासमेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै छिट्टै निकास दिने बताएका थिए ।
बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भने–‘आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराउनुभयो । सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।’
मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिकाविरुद्ध पार्टीले एकमतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी गराएका थिए ।
बैठकमा धारणा राख्ने पोलिटब्युरो सदस्यले पार्टी संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने, जनस्तरसम्म पार्टीलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तीनमहिने कार्ययोजना बनाउनुपर्ने बताएका थिए ।
बैठकमा अध्यक्ष दाहालले पेस गरेको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठक बुधबार पुनः बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्