७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


लिबियामा पहिलो शान्ति सैनिककारुपमा नेपाली सेना तैनाथ हुने (भिडियो)


0
Shares

काठमाडौं, मंसिर १४ । संयुक्त राष्ट्रसंघको पहिलो प्रतिनिधिकारुपमा अफ्रिकीमुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति सैनिककारुपमा पहिलो डफ्फाअन्तर्गत् स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो ।

प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसंघबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।

संयुक्त राष्ट्रसंघबाट नेपाली सेनाको व्यावसायिक कौशल, अनुशासन, कर्तव्यपरायण र सहासको कदर गर्दै पहिलो शान्ति सेनाकारुपमा लिबिया पठाउन अनुरोध भइ आएबमोजिम नेपाली सेनाले त्यहाँ सुविधासम्पन्न घुम्ती अस्पतालको व्यवस्थासहित विशिष्टीकृत सैनिकलाई पठाउन लागेको छ ।

काभ्रेका पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा सुडान र लिबियामा शान्ति स्थापनार्थ खटिजाने सैनिकका लागि सन्चालन गरिएको तालिम समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिबियामा तैनाथ हुन जाने शान्ति सेना पहिलो डफ्फालाई अरू मिसनकोजस्तै नेपाल र नेपाली सेनाको छवि उच्चपार्ने काम गर्न निर्देशन दिइन् ।

उनले भनिन्–‘सरकारको परराष्ट्र नीतिलाई व्यवहारमा प्रभावकारीरुपमा कार्यान्वयन गरी नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व समुदायमा उच्च राख्न नेपाली सेनाबाट भएको योगदानको हामी गौरव गर्दछौं ।’

राष्ट्रपति भण्डारीले ‘शान्तिका प्रतिनिधिकारुपमा नेपाली सेना परिचालन हुनु हाम्रो लागि ठूलो सन्तोषको विषय हो’ भन्दै ‘शान्ति स्थापनाजस्तो पवित्र र महान् कार्यमा संलग्न भइ विगतमा हाम्रा वीर सैनिकले आर्जेको नेपाल र नेपालीको छविलाई उच्च राख्ने प्रण गर्दै नेपाली सेनाबाट शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारीमा प्रदर्शन हुने’ विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वरत् मुलुकमा खटिजाने नेपाली सेनाले व्यावसायिक, अनुशासन, मानवअधिकारको सम्मान र मानवीय भावना प्रदर्शन गरेर मुलुकको छवि उच्च राख्ने विश्वास व्यक्त गरे ।

नेपाली सेनाका एक लाख १४ हजार सात सय ३२ जनाले हालसम्म विभिन्न द्वन्द्वरत् मुलुकमा खटिएर विश्व शान्तिमा योगदान पुर्‍याइसकेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल हाल छैटौं स्थानमा रहेको छ ।

विभिन्न मुलुकका १५ ओटा मिसनमा सहभागी हुँदै आएकोमा अब लिबियामा तैनाथ भएसँगै राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटाएको सबै अर्थात् १६ ओटै मिसनमा नेपाली शान्ति सैनिक परिचालित हुनेछन् ।

शान्तिदूतकारुपमा हाल करिब चार हजार चार सय ६८ नेपाली सैनिक विश्वका विभिन्न द्वन्द्वरत् देशमा खटिरहेका छन् ।

विश्व शान्ति स्थापनाका लागि खटिएको अवस्थामा हालसम्म ६३ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने त्यतिकै संख्यामा सैनिक घाइते भएका छन् ।

तालिम समापनका अवसरमा तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोग राणाले केन्द्रमा चैत ७ देखि २२ गतेसम्म हुने शान्ति प्रयास तालिममा भाग लिने ३५ देशलाई आमन्त्रण पठाइसकेको जानकारी दिए ।

सो अवसरमा अफ्रिकीमुलुक सुडानमा सातौं शान्ति सेनाकारुपमा रिपुमर्दन गण परिचालन हुन निकट भविष्यमै त्यसतर्फ जान लागेको जानकारी दिइयो । उक्त गणका गणपति अन्जन केसी खत्री हुन् । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्