Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधनविरुद्ध देशैभर संयुक्त विरोध गर्ने युवा संघ र अनेरास्ववियुको निर्णय


0
Shares

                                                                                         फाइल फोटो

काठमाडौं, मंसिर १५ । व्यवस्थापिका–संसदमा मंगलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा एमालेनिकट युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन् ।

युवा संघको कार्यालयमा बुधबार बसेको संयुक्त बैठकले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेको युवा संघ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।

बैठकमा वर्तमान सरकारले गरेको संविधान संशोधनको सातबुँदे प्रस्ताव फिर्ता नलिएसम्म त्यसविरुद्ध आन्दोलन गर्ने र अन्य विद्यार्थी र युवा संगठनलाईसमेत समेटने निर्णय भएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् ।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावविरुद्ध युवा र विद्यार्थी संगठनले देशैभर विरोध गर्ने र ५ नम्बर प्रदेशलाई टुक्र्याउन नहुने बैठकको निस्कर्ष रहेको अध्यक्ष लामाले जानकारी दिइन् । रासस

Skip This