Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संशोधन प्रस्तावको समर्थन गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह, परिमार्जन गर्न मोर्चाको जोड


0
Shares

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् ।

बिहीबार बालुवाटारमा संयुक्त मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले उक्त प्रस्ताव राखेका हुन् ।

मोर्चाका नेताहरुलाई उनले भने, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’

बैठकमा मधेशी मोर्चाका नेताहरुले मधेशका थप मागहरु सम्बोधन हुने गरी संशोधन प्रस्तावमा परिमार्जन गर्न आग्रह गरेका थिए ।

छलफलमा प्रधानमन्त्री दाहालका अतिरिक्त उपप्रधानमन्त्री विमलेन्द्र निधि, मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, अनिलकुमार झा, महेन्द्र राय यादव, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत सहभागी थिए ।

Skip This