
फाइल फोटो
काठमाडौं, मंसिर १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आग्रहमा विहीबार उनीविरुद्ध तय भएको मुद्दाको पेशी सरेको छ ।
कार्कीका तर्फबाट उनका कानुन व्यवसायीले आजका लागि चढेको पेशी स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
वकिलहरुको निवेदनसँगै कार्कीविरुद्धको मुद्दाको पेशी आगामी पुस ७ गतेसम्मका लागि सरेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
सर्वोच्चले आगामी पुस ७ गतेभन्दा पछि पेशी सार्न नमिल्ने भन्दै सो दिन जसरी भएपनि समय व्यवस्थापन गर्न वकिलहरुलाई आदेश दिएको छ ।
कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइ विहीबारका लागि तय गरिएको थियो ।
कार्कीको पक्षमा बहस गर्ने एकजना वकिलको स्वास्थ्यमा समस्या देखिएको भन्दै पेशी सार्न अरु वकिलहरुले आग्रह गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्