काठमाडौं, चैत १० । आसन्न लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । लगानी बोर्डले सम्मेलनमा आउने विशिष्ट व्यक्तित्वहरुको सूचीसहित कार्यक्रम तालिका सार्वजनिक गरिसकेको छ ।
यो सम्मेलनमार्फत नेपाल विदेशी लगानी ल्याउनका लागि आतुर रहेको र वातावरण बनाएको सन्देश दिने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् । बोर्डले तयार पारेर वेभसाइटमा राखेको परियोजनाप्रति विदेशी लगानीकर्ताले धेरै इच्चा देखाएको पनि उनले बताए ।
सम्मेलनका क्रममा केही लगानीकर्तासँग केही परियोजना अगाडि बढाउने विषयमा समझदारी गर्ने तयारी बोर्डले गरेको छ ।
लगानी सम्मेलनलाई निजी क्षेत्रले पनि सकारात्मक रुपमा लिएको छ । सम्मेलन लगानीकर्तालाई यहाँको अवसरबारे जानकारी दिन सहयोगी हुने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् ।
सम्मेलनमा सरकारको प्रतिबद्धता आउने भएकाले लगानीको विषयमा लगानीकर्ता आश्वस्त हुन सक्ने उनको विश्वास छ ।
पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले सम्मेलन गर्नु सकारात्मक भए पनि लगानी सम्मेलनको तयारीप्रति भने असन्तुष्टि व्यक्त गरे । आन्तरिक लगानीकर्ताको मनोबल बढाएरमात्रै विदेशी लगानीकर्ता ल्याउन सकिने भन्दै उनले पहिले स्वदेशी लगानीकर्तालाई आश्वस्त बनाएरमात्रै लगानी सम्मेलन गरेको भए राम्रो हुने धारणा राखे ।
चैत १५ र १६ गते राजधानीमा हुने सम्मेलनमा बहुराष्ट्रिय कम्पनी सहित ६ सय ५० जना विदेशी लगानीकर्ता सहभागी हुँदैछन् । सम्मेलनमा ३० खर्बको लगानी प्रतिबद्धता आउने अपेक्षा सरकारको छ ।









प्रतिक्रिया दिनुहोस्