काठमाडौं, मंसिर १७ । नेकपा एमालेनिकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै शुक्रबार देशभरका सरकारी क्याम्पसअगाडि धर्ना दिएको छ ।
सो प्रस्ताव देश र जनताको पक्षमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले अनेरास्ववियुले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभासमेत गरेको हो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले पहाड र तराईका जनताबीचको एकतालाई फुटाउने हुँदा त्यस्तो राष्ट्रघाती गतिविधिकोविरुद्ध सबै नागरिकलाई एकताबद्ध गरी अगाडि बढ्ने बताए ।
उनका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेका अन्य विद्यार्थी संगठनको शुक्रबार दिउँसो बैठक बस्दैछ ।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रहरी र विद्यार्थीकाबीच सामान्य झडप भएको लामिछानेले बताए ।
सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न सीमांकन, नागरिकता, राष्ट्रियसभामा समावेशी प्रतिनिधित्व र भाषाको विषयलाई संशोधन गर्न प्रस्ताव दर्ता गराएपछि नेकपा एमालेनिकट अनेरास्वविय, युवा संघलगायत संगठन आन्दोलनमा छन् ।
संविधानअनुसार प्रस्तावित प्रदेश नम्बर–५ का स्थानीय राजनीतिक दल तथा जनतालेसमेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरेर विरोध गर्दै आएका छन् ।
सरकारले त्यस क्षेत्रमा रहेका पहाडी जिल्लालाई प्रदेश नम्बर–४ मा समायोजन गर्ने प्रस्ताव गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्