फाइल फोटो
काठमाडौं, मंसिर १७ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दलले अवरुद्ध गरेका छन् ।
संसदको बैठक सुरु हुनेबित्तिकै नेकपा मालेका सांसद सीपी मैनालीले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव गलत भएको धारणा राखे ।
तराई मधेसकेन्द्रित दलका नेताहरुले बहुराष्ट्रको कुरा गरिरहेको सन्दर्भमा सरकारले प्रस्तुत् गरेको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने विषय आउनु सन्देहको विषय रहेको उनले आरोप लगाए ।
सांसद मैनालीले प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले टोकेको भन्ने धारणा राखेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद मैनालीले धारणा संसदको रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाए ।
सांसद खतिवडाले सांसद मैनालीको भनाइ हटाउन लगातार आग्रह गरेपछि सभामुख ओनसरी घर्तीले संसदीय मर्यादाविपरीतको धारणा हटाउन निर्देशन दिइन् ।
सांसद मैनालीले संसदीय मर्यादाविपरीत धारणा राखेको भन्दै सांसद खतिवडाले नियमापत्ति जनाएपछि कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले समर्थन गरेका थिए ।
सदनको शुक्रबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने कार्यसूची रहेको थियो ।
संविधान संशोधनसम्बन्धी प्रस्तावको कार्यसूची नभएकाले सदनलाई निर्वाधरुपमा सन्चालन गर्न सभामुख घर्तीले आग्रह गरिन् ।
अख्तियारका प्रमुख आयुक्तमाथि परेको महाअभियोगको प्रस्तावमाथिको छलफल गराउने विषय नै आजको प्रमुख कार्यसूची रहेकाले आशनग्रहण गर्न आग्रह गरिन् ।
प्रमुख प्रतिपक्षी दलको निरन्तरको अवरोधपछि व्यवस्थापिका–संसदको अर्को बैठक यही मंसिर १९ गते १ बजे बस्ने गरी स्थगित भएको छ । रासस









प्रतिक्रिया दिनुहोस्