बुटबल, मंसिर १८ । संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज(शनिबार) पनि रुपन्देही जिल्ला बन्दको आह्वान गरिएको छ ।
अखण्ड ५ नम्बर प्रदेश दबाब समूह र बिभिन्न संघ संस्थाको अगुवाईमा जिल्ला बन्द आह्वान गरिएको हो ।
बन्दको स्थानीय र व्यापारीहरुले समेत समर्थन गरेका छन् । बन्दको प्रभाव रुपन्देहीका प्रमुख शहर बुटवल र भैरहवाको साथै ग्रामीण भेगमा समेत परेको छ ।
बिहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शन भईरहेको छ । बन्दका कारण जिल्लामा यातायातका साधन संचालन हुन सकेको छैन भने व्यापारीहरले बजार ठप्प गराएका छन् ।
बन्दको प्रभाव पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पनि परेको छ । रुपन्देही बन्दको प्रभाव नवलपरासी, कपिलवस्तु र पाल्पामा पनि परेको छ ।
मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीनवटा जिल्ला लगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो ।
संशोधन प्रस्ताव खारेजको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन् ।
यता, गुल्मीमा पनि आज लगातार चौथो दिन पनि बन्द जारी छ । संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।
बन्दलाई स्थानीयले खुलेर साथ दिएका छन् । जिल्लामा आज पनि यातायात, बजार, कलकारखाना ठप्प छन् ।
प्रदर्शनकारीले गुल्मीको सदरमुकाम तम्घासलगायतका क्षेत्रमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकै क्रममा तम्घासमा केही मोटरसाइकल तोडफोडसमेत भएका छन् ।









प्रतिक्रिया दिनुहोस्