काठमाडौं, मंसिर १८ । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेका गतिविधि, मंसिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेकोबारे जानकारी गराइन् ।
सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी पनि गराएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
नेताहरुको छलफलका क्रममा उनीहरुले सहमतिको राजनीतिलाई नै अघि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताएको र दलहरुबीचको अविश्वास हटाएर सहमतिका लागि आवश्यक परेमा आफूले भूमिका खेल्न तयार रहेको सभामुखले उपराष्ट्रपतिलाई जानकारी गराइन् ।
उपराष्ट्रपति पुनले राजनीतिक दलहरुबीचमा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए ।
सहमतिबाट संविधानको कार्यान्वयन गरी देशलाई आर्थिक विकास गराउन दलीय सहमति अपरिहार्य भएकोमा जोड दिँदै उनले आवश्यक समन्वयकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरे । रासस









प्रतिक्रिया दिनुहोस्