
दाङ, चैत १० । यस वर्षको एसइई परीक्षामा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी पनि सहभागी भएकी छन् ।
नेकपा संसदीय दलको सचेतकसमेत रहेकी चौधरीले महेन्द्र माध्यमिक विद्यालय दाङ तुलसीपुर सेन्टरबाट खुल्लातर्फबाट परीक्षा दिएकी हुन् । यस वर्ष दाङमा खुल्लातर्फ २०८ जना परीक्षार्थी छन् । सांसद चौधरीले एसइई परीक्षामा सहभागी भएर बाल्यकालको सपना पुरा भएको बताइन् ।
दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले सानोमा अरूको घरमा कम्लहरी बस्दा पढ्न पाइनन्् । उनी झन्डै १८ वर्ष अरुको घरमा कम्लहरी बसिन् । राजनीतिमा सक्रिय भएपछि भने दुई वर्ष अघि उनले गाउँकै मावि गोग्लीमा कक्षा ८ बाट फेरि पढाइ शुरु गरिन् ।
सांसद चौधरीसहित उनकी १७ बर्षीया छोरी विनु चौधरी अहिले एकै साथ एसइई परीक्षामा सामेल भएका छन् । विनु भने काठमाडौंबाट परीक्षामा सामेल भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्