रोल्पा, मंसिर । जीर्ण भइसकेको जिल्ला कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा क्षमताभन्दा दोब्बर कैदीबन्दी थुनिएका छन् ।
ससाना कोठा, साँघुरो गल्ली र उस्तै सानो आँगनमा कैदीबन्दीलाई साँच्चिकै सास्ती भएको उनीहरुले बताए । ‘हामीलाई सबैभन्दा चर्पीको समस्या छ,’ बन्दीगृहबाट थुनामा रहेका हुकुम बूढाले भने ।
‘दिनभरि चर्पीमा दिसापिसाब गरेपनि राति कोठामा बाल्टी राखेर पालैपालो दिसापिसाब गर्नुपर्छ । एक त कोचिएर बस्नु त्यसमा पनि गन्हाएर बसी नसक्नु हुन्छ,’ उनले भने, ‘हामीले भित्रै बसेर पनि केही सीपमूलक काम गर्नका लागि खुल्ला ठाउँ छैन । कपडा सुकाउन घाम ताप्न पनि उत्तिकै गाह्रो छ ।’
यस्तै, बन्दीगृहमै थुनामा रहनुभएका हरिप्रसाद वलीका अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कोठाको ढोका थुनिएपछि चर्पी जान मिल्दैन । ‘यसरी कोठा बन्द हुँदा बाल्टीमै दिसापिसाब गर्न बाध्य छौँ । कहिलेकाहीँ बाल्टी भरिँदा सुरक्षाकर्मीको सहयोगमा चर्पीको ढोका खोल्न लगाई बाल्टी खाली गर्दै आएका छौँ,’ उनले भने ।
विसं २०२९ मा स्थापना भएको कारागारमा जम्मा ५० जनाको क्षमता भएको भएपनि हाल ९१ जना कोचिएर बस्न बाध्य भएको उनीहरुको गुनासो छ ।
कारागारमा महिलाका लागि छुट्याइएका दुईवटा कोठामा तीन नाबालक र १२ जना महिला गरी जम्मा १५ जना छन् भने पुरुषका लागि छुट्याइएका आठवटा कोठामा ७६ जना बस्दै आएको प्रहरी सहायक निरीक्षक कुलबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार ८५ जना जसोतसो कोचाकोच गरेर बसेको अवस्थामा जिल्ला कारागार कार्यालय सल्यानबाट थप छजना स्थानान्तरण भएर रोल्पा कारागारमा आएसँगै उनीहरुलाई थप समस्या भएको छ ।
यसरी सल्यान कारागारबाट स्थानान्तरण भएर रोल्पा कारागारमा ल्याइएकामा जबर्जस्ती करणीमा पाँचवर्ष पाँच महिना आठ दिनका लागि कैद सजाय भोग्दै आएका विकास पुन भन्ने देवबहादुर सुनार, आगो लगाई ज्यान मार्ने उद्योग गरेबापत पाँचवर्ष कैद भोग्दै आएका टोपबहादुर बुढाथोकी, कर्तब्य ज्यानमा १० वर्षको कैद सजाय भोग्दै आएका शेरबहादुर बुढाथोकी, कर्तब्य ज्यानमै नौ वर्ष कैद भोग्दै आएका नरबहादुर रेउले, जबर्जस्ती करणी गरेबापत छ वर्षको कैद सजाय भोग्दै आएका पदम नेपाली र जीउ मास्ने बेच्ने तथा लागुऔषध काण्डमा परी १५ वर्ष दुई महिनाको सजाय भोग्दै आएका जुनकरी सैयाद मुसलमान रहेका छन् ।
यता कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मी भने सल्यानबाट स्थानान्तरण भएर रोल्पा ल्याइएका कैदीलाई दाङमा पठाउने कुरा भएको तर दाङले स्वीकृति नदिएको हुँदा आफूले स्वीकृति दिएको बताए ।
यस्तै, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जे जस्तो समस्या तथा चुनौती सहेर भएपनि आन्तरिक र बाह्य सुरक्षा दिँदै आएको बताए । ‘तर पनि जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा सबैलाई अप्ठेरो महसुस भइरहेको छ,’ उनले भने ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले क्षमताभन्दा बढी कैदी भएको हुँदा सहज वातावरण मिलाउन वा पुनः उनीहरुलाई स्थानान्तरणका लागि सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन् । (रासस)










प्रतिक्रिया दिनुहोस्