फाइल फोटो
काठमाडौं, मंसिर २२ । पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली कांग्रेसका भातृसंठन नेपाल तरुण दलका पूर्वपदाधिकारीले नयाँबानेश्वरमा छुट्टै भेला गरेका छन् ।
पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटकाले असन्तुष्टि राख्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन माग गर्दै भेला गरेका हुन् ।
असन्तुष्ट पक्षधर लक्ष्मी खतिवडाले महाधिवेशनलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेकाले विधि र विधानसम्मत् तरुण दलको महाधिवेशन गर्न माग गर्न भेला गरिएको जानकारी गराइन् ।
‘बन्दसत्र सन्चालन नै नभइ पार्टी नेतृत्वले हस्तक्षेप गरी नयाँ कार्यसमिति बनाएको छ’–उनले भनिन्–‘यो हामीलाई मान्य छैन । महाधिवेशन विधि र विधानसम्मत चल्नुपर्यो ।’
कार्यक्रममा दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्वमहासचिव पुष्प पराजुली, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महेन्द्र शर्मालगायतले महाविधेशन विधि प्रक्रियामा नै नभएकाले पुनः महाधिवेशन गर्नुपर्ने माग राखे ।
तरुण दलको पोखरामा कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन भएको थियो । महाधिवेशनले जितजंग बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो । रासस





प्रतिक्रिया दिनुहोस्