
काठमाडौं, मंसिर २४ । स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याएवापत मृगौला रोग विषेशज्ञ वरिष्ठ चिकत्सिक डा. ऋषिकुमार काफ्लेलाई ‘कुमारसरस्वती विशेष अभिनन्दन–२०७३’ द्वारा सम्मान गरिएको छ ।
कुमार–सरस्वती पुरस्कार गुठीले हरेक वर्ष वितरण गर्ने ‘कुमार–सरस्वती विशिष्ट सहित्य साधना सम्मान–२०७१’ बाट साहित्यकार एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको छ ।
यस्तै ‘कुमार–सरस्वती विशिष्ट साहित्य साधना सम्मान–२०७२’बाट साहित्यकार नारायणप्रसाद गौतमलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको छ ।
राजधानीमा सम्पन्न विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रतीले पुरस्कृत स्रष्टाहरुलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कार प्रदान गरेसँगै कुलपति उपे्रतीले नेपाली समालोचनाका विख्यात व्यक्ति डा. कुमारबहादुर जोशीको नाममा स्थापित पुरस्कारले पुरस्कृत हुन पाउनु निकै अर्थपूर्ण हुने बताए ।
सम्मान पश्चात डा. ऋषिकुमार काफ्लेले मृगौला रोगबाट पीडित डा. जोशीको धैर्यताका बारेमा बताएका थिए । उनले वर्षमा एक पटक मृगौला जाँच गरिएमा यो रोगबाट बच्न सकिने पनि बताए ।
यस्तै साहित्यकार हिरण्यकुमारी पाठकले पुरस्कारले जिम्मेवारी थपिदिएको बताइन् । अर्का पुरस्कृत साहित्यकार नारायणप्रसाद गौतमले यो सम्मानले आफूमा थप हौसला बढेको बताए ।
गुठीका अध्यक्ष वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठीका उपाध्याक्ष प्रद्युम्न जोशी, कवि ठाकुर बेल्बासेले डा. जोशीका बारेमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्