Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पाँच नम्बर प्रदेशका जिल्लामा ११औं दिन पनि बन्द जारी, दिनहुँ प्रदर्शन


0
Shares

काठमाडौं(जिल्ला ब्यूरो), मंसिर २५ । प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गराउन सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा ११औं दिन आज(शनिबार) पनि पाल्पा र गुल्मी जिल्ला बन्द कायमै छ ।

अनिश्चितकालिन बन्दले गर्दा यी जिल्लाकोे जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण जिल्लाका सबै बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प भएको छ ।

आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् ।

संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शन अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ ।

उता, सरकारले पाँच नम्बर प्रदेशलाई विखण्डन गरेको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीले आजबाट फेरी जिल्ला बन्दको आह्वान गरेको छ ।

समितिले पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले आज र भोलि बन्द आह्वान गरेको छ ।

सरकारले मंसिर १४ गते राति संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि १५ गतेदेखि २० गतेसम्म जिल्ला बन्द गरिएको थियो ।

सरकारलाई ४ दिने अल्टिमेटम दिँदै २१ देखि २४ गतेसम्म बन्दका कार्यक्रम फिर्ता गरिएपनि बिरोधका अरु कार्यक्रम यथावत राखिएको थियो ।

सरकारले माग सुनुवाइ नगरेको भन्दै संघर्ष समितिले फेरि बन्दको आह्वान गरेको हो । उता, रुपन्देही, कपिलवस्तु, प्यूठानलगायतका जिल्लामा पनि प्रदर्शनका कार्यक्रम जारी नै छन् ।