काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगरबीच शनिबार भेटवार्ता भएको छ ।
बालुवाटारमा सभामुख घर्तीसँग भएको भेटमा प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग थप छलफल गर्ने बताएका छन् ।
गतिरोध अन्त्य गर्न अहिले पनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको र थप छलफल गर्ने प्रधानमन्त्रीले बताएका हुन् ।
आगामी बिहीबारका लागि बोलाइएको संसदको अर्को बैठकसम्ममा सहमति जुट्ने विश्वास प्रधानमन्त्रीको छ ।
सभामुख घर्तीले संसद अबरुद्ध हुँदा चुनावसम्बन्धी कानुन, महाअभियोग प्रस्तावलगायत महत्वपूर्ण विषय संसदमै अल्झिरहेकाले तत्काल संसद खुलाउने व्यवस्थाका लागि प्रधानमन्त्री दाहालसँग आग्रह गरेकी थिइन् ।
सभामुख घर्ती भने बुधबारसम्म देश बाहिर रहनेछिन् । उनी शनिबार नै विश्वभरका महिला सभामुखको सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेटको आबुधाबी जाँदै छिन् ।
मंसिर २७ र २८ गते हुने सम्मेलनमा भाग लिएर उनी मंसिर २९ गते नेपाल फर्किने कार्यक्रम छ ।
इन्टरनेशनल पार्लियामेण्टरियन युनियन र युएइको संसदले संयुक्त रुपमा गर्न लागेको सम्मेलनमा सभामुख घर्तीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।





प्रतिक्रिया दिनुहोस्