Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


‘एमालेले अब पार्टी सदस्यताका लागि लिखित परीक्षा नै लिने’


0
Shares

चितवन, मंसिर २५ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

नेकपा एमाले चितवनले शनिबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन् ।

उपाध्यक्ष शाक्यले संविधानविपरीत संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै ‘साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्छ’–भनिन् ।

सीमांकनको विषयमा आयोगमार्फत् काम गराउनुपर्नेमा जोड दिदै उनले भनिन्–‘संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ ।’

उनले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनेतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरिन् ।

उपाध्यक्ष शाक्यले नेकपा एमाललेले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुन लागेको जानकारी दिइन् ।

चितवनमा आइतबार एमाले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ ।

कम्युनिष्ट पार्टीको न्यूनतम् विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरि नै अभियानकोरुपमा लैजाने उनले बताइन् ।

सो अवसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गरे ।

परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएकोे पनि उनले जानकारी गराए ।

लिखितरुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ । रासस

 

Skip This