२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ओली पुगे बिजुक्छे निवास


0
Shares

भक्तपुर, मंसिर २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ ।

देशको समसामयिक अवस्था, संसद अवरोध, संविधान कार्यान्वयन एवं निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो ।

भेटवार्तापछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको जारी अवरोध, संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा दुबै नेताबीच छलफल भएको बताए ।

उनले भने–‘संसदमा आन्दोलन चलिरहेको छ, संसद अवरुद्ध भइरहेको छ, सडकमा पनि जनता उठिरहेकाबेलामा अब कसरी अगाडि बढ्ने र आन्दोलनलाई कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ ।’

सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितविपरीत रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको बताउँदै पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले भने–‘छलफलमा संविधान संशोधनको विषयलाई लिएर संसदमा गरिएको अवरोधलाई निरन्तरता दिने र अझै सशक्त ढंगले अगाडि बढ्नेबारेमा दुई दलबीच छलफल भएको छ ।’

उनका अनुसार संसदको अवरोध र सडक आन्दोलनलाई जारी राख्दै अझै शसक्त ढंगले लैजानेबारेमा दुबै दलको एउटै धारणा रहेको छ ।

त्यस्तै, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध जारी राख्नेबारेमा दुई दलबीच सहमति भएको जानकारी दिए ।

‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्थगित गरेर अगाडि जानु हुँदैन, यसो गर्दा जनताको भावनामा ठेस पुग्छ र जनताले संसदलाई पनि विश्वास गर्दैनन्, पार्टीलाई पनि विश्वास गर्दैनन्, त्यसैले प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरुद्ध गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ, यसका लागि सरकारलाई दबाब दिनुपर्छ’–उनले भने ।

अध्यक्ष बिजुक्छेले स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन–कानुन नै नबनेको अवस्थामा संसदमा दर्ता भएको विधेयकलाई थाती राखेर निर्वाचनमा जाने भन्ने चर्चा सत्तापक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको आरोप लगाए ।

उनले भने–‘संशोधन प्रस्तावलाई फिर्ता नलिइ थाती राखेर अगाडि बढ्ने पक्षमा एमाले पनि सहमत छैन र यसो गर्न पनि हुँदैन, नेपाल नै रहन्छ कि रहँदैन भन्ने अवस्था सिर्जना होला भन्ने डर भएकोबेलामा प्रस्ताव फिर्तापछिमात्रै संसद खोलेर अगाडि जानुपर्छ भन्ने धारणा हामीले राख्यौं ।’

सरकारमा जाने दलले आफ्नो फाइदालाईमात्रै हेरेर निर्णय गर्दा देशमा अस्थिरता बढेको पनि उनले बताए । रासस