
प्रकाश मैनाली (इमेज)
सर्लाही, चैत ७ । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने ‘जोगिरा’ गीत लोप हुने अवस्थामा पुगेको छ ।
होली सुरु हुनुभन्दा एक हप्ताअघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय भने हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
होली पर्वमा तराईका बस्तीहरुमा ढोलक, मृदंग, झ्याली, हारमोनियमजस्ता बाजाको प्रयोग गरी जोगिरा गीत गाउने गरिन्छ ।
जोगिराका कारण तराईका गाउँहरुको वातावरणमा बेग्लै किसिमको रौनक छाउँछ, होली पर्वमा । तर, यस्ता मौलिक गीतहरु हिजोआज लोप हुने अवस्थामा पुगेका छन् ।
जोगिरा गीतमात्रै होइन, तराईमा उत्सव र उमंगका साथ खेलिने होलीको महत्व पनि विस्तारै घट्दै गएको छ ।
तराईका भित्री गाउँबाटसमेत अधिकांश युवाहरु विदेशिँदा गाउँघरमा होलीको रौनक कम हुँदै गएको छ भने अर्कातिर आधुनिकताले पनि यस्तो मौलिक पर्व र जोगिराजस्तो मौलिक संगीतको आकर्षण घट्दै गएको छ ।
पुराना जोगिरा गाउनेहरुको निधन भइसकेको र कतिपयले बढ्दो उमेरका कारण गाउन नसक्दा जोगिरा गाउनेहरु क्रमशः घट्दै गएका छन् ।
नयाँ पुस्तालाई जोगिराको महत्व र यसप्रतिको आकर्षण बढाउन नसक्दा पनि यसको संरक्षण थप चुनौतीपूर्ण बनेको छ ।
प्रतिक्रिया दिनुहोस्