२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विद्यालय भवन र शौचालय अभावमा शिक्षक–विद्यार्थीलाई सास्ती


0
Shares

म्याग्दी, पुस १ । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतस्थित खड्गभवानी प्राथमिक विद्यालयमा कक्षा कोठा र शौचालय नहुँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो परेको छ ।

विद्यालयमा गत आर्थिक वर्षमा शुरु गरिएको भवन निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेपछि विद्यार्थीहरु जाडोमा पनि खुलाचौरमा बसेर पढ्न बाध्य छन् ।

विद्यालयमा शौचालय नहुँदा शिक्षक–शिक्षिका र विद्यार्थीहरु पाखो वा जंगलमा गएर शौच गर्न बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए ।

सांसद विकास कोषबाट १ लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजार रुपैयाँका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुई कोठे कक्षा कोठाको निर्माण शुरु गरिएको थियो ।

तर, निर्माणकै क्रममा गत वर्षातको समयमा पहिरो खसेर भवन भत्काएपछि निर्माण कार्य नै अवरुद्ध भएको हो ।

५२ जना विद्यार्थी अध्ययनरत यो विद्यालयमा दरबन्दीका दुई, बालविकास सहयोगी कार्यकर्ता एक र विद्यालय कर्मचारी एक जनामात्रै कार्यरत छन् ।