काठमाडौं, चैत ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण संकलन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा. लोकनाथ भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत् सबै स्थानीय तहलाई बेरोजगारको विवरण संकलन गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयले बेरोगजारको विवरण संकलन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक तोकेको छ ।
उनकाअनुसार रोजगार संयोजकबाट स्थानीय तहका सबै वडामा बेरोजगारका विवरण संकलन गरिने छ ।
यस्तै, रोजगार संयोजक नतोकिएका स्थानीय तहमा भने स्थानीय तहले आफैं एकजना कर्मचारी खटाइ बेरोजगारको विवरण संकलन गर्न निर्देशन दिइएको उनले बताए ।
सरकारले ४८५ स्थानीय तहमा बेरोजगारको विवरण संकलन गर्न रोजगार संयोजक खटाइसकेको छ भने बाँकी स्थानीय तहमा रोजगार संयोजक तोक्ने कार्य अगाडि बढाएको छ ।
सरकारले चैत मसान्तभित्र आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा बेरोजगार भएकालाई नाम दर्ता गर्न आह्वान गरिसकेको छ ।
रोजगारी हकसम्बन्धी ऐन–२०७५, रोजगारी हकसम्बन्धी नियमावली–२०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका–२०७५ अनुसार बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी सुनिश्चित गरेको छ ।
१०० दिनको रोजगारी दिन नसकेमा सरकारले रोजगारी प्राप्त गर्न नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । रासस









प्रतिक्रिया दिनुहोस्