Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर रोक्यो


0
Shares

बाँके, चैत ७ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ओटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ ।

अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए ।

उनले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छाड्ने सहमति भएपनि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भने अनलाइन सेवा सन्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए ।

उनले भने–‘हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौं । सर्भरमा समस्या देखिएकाले बनाइरहेको जानकारी पाइरहेका छौं ।’

भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताए ।

१० लाख रुपैयाँभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् ।

भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्यांकर छाड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।

पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने–‘ट्यांकर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौं ।’

उनकाअनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भन्डारण छ ।

ट्यांकर भित्र्याउन वैकल्पिक उपायकाबारेमा छलफल भइरहेको बताइएको छ । रासस

Skip This