
काठमाडौं, पुस १ । चालु आर्थिक वर्षको चौथो अर्थात् कात्तिक महिनामा मूल्य बृद्धिदर उल्लेख्य घटेको देखिएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक स्थितिमा कात्तिक महिनामा मूल्यबृद्धि ४.८ प्रतिशतमा ओर्लेको जनाइएको हो । यो १४ वर्षयताकै न्यून मूल्यबृद्धि हो ।
२०५९ सालमा मूल्य बृद्धि २ दशमलव नौ प्रतिशतसम्म झरेको थियो र त्यसयता निरन्तर बढी नै रहेको थियो ।
यस्तो मुद्रास्फीति अघिल्लो महिना र अघिल्लो वर्षको यसै अवधिमा पनि १०.४ प्रतिशत रहेको थियो ।
गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति दुबैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष यसै समय भारतीय नाकाबन्दीका कारण मूल्यबृद्धि उच्च रहन गएको थियो ।
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा खाद्य मुद्रास्फीति १२.१ प्रतिशत रहेको थियो ।
यस समूहअन्तर्गतको घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको छ भने दुग्धजन्यपदार्थ तथा अन्डा, खाद्य तथा खाद्यजन्यपदार्थ, फलफूल, मासु तथा माछालगायतका वस्तुहरुको मूल्य बृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.२ प्रतिशत रहेको थियो ।
यस समूहअन्तर्गतको यातायात तथा सन्चारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवालगायतका वस्तुहरुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ ।
फलस्वरुप गैर–खाद्य मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहन गएको जनाइएको छ ।
अरु आर्थिक परिदृश्य भने विकास आयोजनाहरुको सफल कार्यान्वयन, सरकारको खर्च गर्ने क्षमता र अन्य बाह्य क्षेत्रको अवस्थामा भर पर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्