Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अनुहार होइन, मन रंग्याउँ !


0
Shares

प्रकाश सिलवाल (रासस)

काठमाडौं, चैत ६ ।

‘आउ प्रिय हामी मिलेर खेलौं होली 

भरिदिन्छु तिम्रो म मायाको झोली 

जे–जे गर्नुछ आजै समय छँदै गरौं 

कसले देखेको छ र के हुन्छ भोलि ।’

चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैं होली पर्व आधुनिकतासहित रङ र सद्भावको उत्सवमा मिसिएको छ ।

परम्परागत मान्यताबाट सुरु भएको फागु पूर्णिमाका अवसरमा बुधबार एकापसमा रङ लगाउने, सद्भाव बाँड्ने र नाचगानका गतिविधिमा मानिस व्यस्त छन् ।

खासगरी युवापुस्ता बढी सक्रिय देखिँदै आएका छन् । रमाइलो मान्ने र गर्ने एक माध्यम बनेको होलीका अवसरमा सहरका विभिन्न स्थानमा म्युजिक सिस्टमसहित बनाइएका मन्चमा उनीहरुको आकर्षण देखियो । यस्ता कार्यक्रममा कलाकारको प्रस्तुतिले उनीहरुलाई थप रोमान्चित बनायो ।

विभिन्न टेलिभिजन, रेडियो र संस्थाले आफ्नो कार्यालय तथा आसपासका खुला स्थानमा यस्ता कार्यक्रम आयोजना गरेका छन्, जहाँ केटाकेटीदेखि बूढाबूढीसम्म मनोरन्जन लिइरहेका छन् ।

विगत वर्षमाजस्तो होलीका नाममा विकृति नभएको हुँदा इच्छाविपरीत पानी र जथाभावी रङ हाल्नेक्रम रोकिएकाले महिला पनि यस्ता कार्यक्रममा सहजरुपमा उपस्थित भएको पाइयो ।

होलीकैक्रममा टोखामा व्यस्त रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले दर्शकलाई भरमग्दूर हसाउन व्यस्त भए भने हास्यकलाकार मनोज गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लाइभ प्रस्तुत् भइ होलीका सन्देश प्रस्तुत् गरे ।

होलीका लागि गजुरेलको सन्देश छः

‘जति दल्नुस् साइँली अनुहार देखिहालिन्छ भोलि 

होलीको रङ अहिले दल्नुस् भरे धुनुपर्छ 

त्यसैले अनुहार होइन, मन रंग्याउनुपर्छ ।’

हास्यव्यंग्य प्रस्तुतिको पहिचान बोकेको ‘रेडियो अडियो’ले नयाँबानेश्वरमा यस वर्ष पनि विभिन्न कलाकार आमन्त्रण गरेर होली मनाएर स्रोता र दर्शकलाई मनोरन्जन दिलायो ।

आगामी वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दालभात तरकारी’को ‘भिजिट भिसामा हजुर भिजिट भिसामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा…’ बोलको गीत र अन्य प्रस्तुतिमा सहभागी मुग्ध भएका थिए ।

कलाकार बोलाएर महाराजगन्जमा ‘रेडियो अन्नपूर्ण’ले यस वर्ष त्यस क्षेत्रमा उत्सव मनाएको छ । यस्ता कार्यक्रमका लाइभ प्रस्तुतिलाई पनि स्रोताले रुचाएका छन् ।

वसन्तपुरमा सदाझैं यो वर्ष पनि होली विशेष सांस्कृतिक कार्यक्रममा स्वदेशीमात्र नभइ विदेशीसमेत रमाएका छन् ।

काठमाडौंका विभिन्न स्थलबाट सवारी–साधन वा पैदलमा होली खेल्दै हिँडेका विभिन्न समूह त्यहाँ पुगेर मिसिएका थिए ।

भक्तपुर र पाटन दरबार स्क्वायरका पर्यटक पनि होलीको रोचक दृष्यमा रमाएका देखिन्थे ।

नायिका, निर्देशक दीपाश्री निरौलाले ‘नसारहित सुन्दर जीवन सम्भव छ…’ सन्देशसहितको सांस्कृतिक कार्यक्रममा प्रदेश नम्बर–१ को मुकाम विराटनगरमा प्रस्तुति दिएर होली मनाइन् ।

रासससँग कुरा गर्दै निरौलाले भनिन्–‘लागुपदार्थ दुर्व्यसन र कुलतमा युवा फसी जीवन बर्बाद पार्नुहुँदैन भन्ने हाम्रो सन्देश हो । प्रदेश नम्बर–१ बाट यो अभियान सुरु भएको छ ।’

होलीकाक्रममा जथाभावी पानी फ्याल्ने र रङ दल्नेक्रम घटे पनि आपसमा खेल्नेक्रममा पनि आवश्यकताभन्दा बढी रङ, माटो र हिलो दल्ने, अत्यधिक मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्नेजस्ता विकृति पनि मिसिएको छ ।

बढी रङ र माटो दल्दा वा अत्यधिक मादकपदार्थ सेवक गर्दा स्वास्थ्यमा खराबी हुन सक्छ भने सामाजिक विकृतिसमेत निम्ल्याउने छ ।