Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रथम नारी स्रष्टामाथि विवाद


0
Shares

नरेन्द्रराज प्रसाई –

मेरा आदरणीय सर 
पुष्कर लोहनीज्यू! तपाईंको योग्यता, तपाईंको समर्पण र तपाईंको अनुभव उचित ठाउँमा रोप्न सकिएको छ जस्तो मलाई लागिरहेको छैन। तपाईं नेपाली साहित्यका महारथी हुँदाहुँदै पनि त्यस बेलाका पुष्कर लोहनी अहिले पनि सडकमा उभिएर तुकविना चिच्याउन छाडेको देखिनु भएकै छैन। तपाईंको यस बेहोराले मलाई दुक्ख लागेको छ।

फेरि तपाईंले लाजमर्दो कुरा भन्नुभयो “पैसाको खोलो बगाउने हो भने भागवतकुमारी प्रथम नारी रत्न हुनेछिन् ।” तर याद राख्नुहोस् सर! जतिसुकै पैसाको खोलो बगाउदा पनि नेपाली नारी साहित्यको इतिहासमा भागवतकुमारी पाण्डे चाहिं प्रथम नारी रत्न हुनै सक्तिनन्। प्रथम नारी स्रष्टा हुन् – ललितत्रिपुरसुन्दरी। उनले १८८१ सालमा महाभारतको शान्तिपर्वलाई संस्कृतभाषाबाट नेपाली भाषामा अनुवाद गरेकी थिइँन् र त्यो वृहत् गन्थको नाउँ “राजधर्म” हो। त्यसग्रन्थमा यिनका मौलिक कविता पनि गाँसिएका छन्।

साम्रदायिक भावना प्रबल भैदिंदा आफ्नो जीवनको सम्पूर्ण अस्त्रमा खिया पर्दोरहेछ भन्नेको प्रमाण हाम्रा माझ तपाईं देखिनु भएको छ। हो, म पनि तपाईं जस्तै कुमाईं नै हुँ तर मबाट कहिले पक्षपात हुने प्रयास भएको छैन। तपाईंबाट पनि यस्तो काम हुन नपर्ने हो भन्ठान्छु। किनभने तपाईं त मेरा आदरणीय सर जसले त्रिचन्द्र क्याम्पसमा बीएको अध्ययनको क्रममा पारिजात पढाएर त्यसबारे मलाई झनै पारङ्गत बनाउने प्रयास गर्नुभएको थियो।

तपाईं मेरो पूज्य गुरू हुनुहुन्छ र मेरो मात्र नभएर मेरा छोराछोरीका पनि गुरू हुनुहुन्छ। हाम्रो परिवारमा तपाईं र मेरी आदरणीय गुरूआमा महालक्ष्मी लोहनीको धेरै लगानी जोडिएको पनि छ । त्यसैले हामी तपाईंहरूको जयजयकार पनि गरिरहन्छौं।

भगवतकुमारी पाण्डेकाबारे मैले नखोजेको होइन तर मैले उनीबारे पूर्णपाठ फेला पार्न सकिन र भनेजस्तै गरेर लेख्न पनि सकिन। २०६३ सालमा मेरो “नारीचुली” प्रकाशन भएपछि यसबारे तपाईंले तरूण मार्फत मेरो लेखनीको बोक्रा ताछ्न खोज्नु भएकै पनि थियो। अनि मैले जवाफ दिएको थिएँ ” भागवतकुमारीका विषयमा प्रामाणिक कुरा र यथेष्ट जानकारी दिनुहोस् या यसबारे तपाईं आफै लेखिदिनुहोस्।” तर तपाईंले स्रोत जुटाउनु सक्नु भएन र अझै तपाई आधारहीन बेहोरामा नै प्रस्तुत भैरहनु भएको छ। तपाईंको कमजोर जिद्धी देख्ता मलाई दुक्ख लाग्छ। एउटा सुयोग्य गुरूलाई मैले यसो नगर्नुहोस् भनेर सम्झाउनु पर्दाको तात्पर्यले मलाई नमज्जा पनि त लाग्छ नि; सर!

अर्को कुरा “नारीचुली”मा सावित्री पोख्रेललाई पनि मैले सामाग्रीको अभावमा भागवतकुमारीको भन्दा धेरै लेख्न सकेको थिइँन। पछि मैले सावित्रीबारे सामाग्रीहरू फेलापार्दै जान थालें र लेखें। अझै पनि म भन्छु “मलाई भगवतकुमारीबारे जानकारी दिनुहोस् म लेख्छु।” उनैकी नातिनी ज्ञानु पाण्डेलाई पनि मैले यसबारे सामाग्री नमागेको थिएन। तर ज्ञानु बैनीले पनि मैले “नारीचुली”मा प्रस्तुत गरेभन्दा धेरै सामाग्री जुटाउन सक्तिन भनिन्।

त्यतिखेर सर र मेरो लेखनीका सन्दर्भमा जेजति युद्ध मच्चे तापनि त्यो “नारीचुली”बारे व्वाँसो जगदीशशमशेर राणालाई “नेपाल समाचारपत्र” मार्फत मुन्ट्याउने काम त सरबाटै भएको थियो। ठग राणाले “नारीचुली” अङ्ग्रेजी भाषामा लगेर आफ्नै नाउँमा छापेर नाङ्गो नाच नदेखाएको होइन। डाका, चोर र हरामी राणाले गरेको कुकृत्यलाई सबैले टुलुटुलु हेरेर बसेको सन्दर्भमा तपाईंले शोषक, जाली र घृणित राणालाई औपचारिक रूपमा चोरमा दर्ता गरिदिनु भयो । साथै त्यो राणा प्रसङ्ग नेपाली साहित्यमा किताप चोरको इतिहासमा समेत ज्वलन्त पारिदिनु भएको छ। त्यसका लागि पनि म तपाईंसँग थप ऋणी छु ।

अब अझै सरसमक्ष विन्ती गर्छु “मलाई भगवतकुमारी पाण्डेबारे स्रोत जुटाइदिनुहोस्; म उहाँबारे लेख्छु। उहाँले तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं या दशौंमध्ये कुन ठाउँ समाउनु हुन्छ त्यही स्थानमा उहाँलाई विराजमान गराउने मेरो प्रयास हुनेछ। मेरो यस कार्यमा तपाईंको पनि सहयोग जुट्न सके नेपाली भाषा साहित्यमा अर्को महत्वपूर्ण उपलब्धी हुने थियो।

सरको जय होस्!
सरको सदा आज्ञाकारी विद्यार्थी

Skip This