काठमाडौं । संघीय संसद्को अर्थ समितिले चालु आर्थिक वर्षको दोस्रो चौमास सकिसक्दा समेत पूँजीगत खर्च हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले सोमबार बढी पूँजीगत खर्चका लागि बजेट विनियोजन गरिएका ताल्लुक मन्त्रालयका सचिवहरुलाई बोलाएर खर्च हुन नसकेकोबारे जानकारी लिएको हो ।
समितिले पूँजीगत खर्च बृद्धिका सन्दर्भमा यसअघि दिइएको निर्देशन पालना समेत नभएको भन्दै आपत्ति पनि जनाएको छ ।
बैठकमा महालेखापरीक्षक टंकमणी शर्माले बजेट विनियोजन गर्ने समयमै तयारी राम्रो नहुँदा र परियोजनाको अनुगमन नहुँदा पूँजीगत खर्च बढ्न नसकेको बताए ।
उनले अनुगमनलाई प्रभावकारि नबनाए आगामी वर्षमा समेत पूँजीगत खर्च बढ्न नसक्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अब गर्मी मौसम सुरु भएपछि कामले तीब्रता लिने बताए ।
हालसम्म मन्त्रालयले ३८ प्रतिशत पूँजीगत खर्च गरिसकेको उनले बताए ।
केरुङ–काठमाडौं रेलमार्गको प्रि–फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग उनले माग पनि गरे ।
उनले बजेटको अभावमा वीरगंज–काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको कामलाई अघि बढाउन नसकिएको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्