
रविन भट्टराई, ईमेज
अहिले सो क्षेत्रमा जग्गा कारोबार बढेको छ भने गाउँमा उत्पादित कृषिजन्य बस्तुले समेत बजार पाउन थालेका छन् ।
मेची राजमार्ग अन्तर्गत गणेशचोक हुँदै पाँचथरको विकट तथा पर्यटकीय क्षेत्र च्याङ्थापु गाविस सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङ र पाँचथरका दुई दर्जन बढि गाविसका स्थानियबासी लाभान्वित भएका छन् ।
भारतसँग सिमाना जोडिएको यस स्थानमा सडक सँगै सवारी साधन समेत चल्न थालेपछि व्यापार व्यवसायमा बृद्धि भएको छ भने जग्गा किनबेच पनि वढेको च्याङ्थापुका स्थानीय रमेश ढुङ्गेल बताउँछन् ।
यसअघि सडक नपुग्दा पाँचथरको च्याङ्थापु, फलैचासहित ताप्लेजुङको सादेवा, कालिखोला, सुरुङखिम लगायतका गाविसका स्थानीयबासीले दुई, तीन दिनको पैदल यात्रामा पाँचथरको गोपेटार र थर्पु बजारबाट ढाकरमा भारी बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।
यो स्थान हुँदै मध्य पहाडी लोकमार्ग निर्माण भएपछि अहिले यस स्थानमा दैनिक यात्रु तथा मालबाहक सवारीसाधन पुग्ने गरेका छन् ।
सवारी साधन सहित मानिसहरुको चहल पहल बढेपछि जग्गा किन–बेचको कारोबार पनि बढेको स्थानिय तुलसी शिवाकोटीले वताए ।
पहिले अधिकांश खेतियोग्य जमिन बाँझो रहने यस स्थानमा सडक पुगेसँगै बस्ती विस्तार हुन थालेको छ भने बाँझो खेत बारीमा साग सब्जी उत्पादन गरी अन्य स्थानमा निकासा समेत हुने गरेको छ ।
सडक सञ्जाल सँगै सुगम बनेको यस ठाउँमा अहिले सरकारी कार्यालयका शाखाहरु समेत स्थापना गरिएको छ ।
मध्य पहाडि लोकमार्ग हुँदै भारतको सिक्कीम सम्म सडक जोडिएको र पर्यटकिय क्षेत्र चिवाभञ्ज्याङ पनि यसै स्थानमा पर्ने भएकाले व्यवस्थित शहरीकारणको योजना बनाई बस्ति विकास गरे ताप्लेजुङ र पाँचथर दुबै जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्