-सञ्जय कार्की/ईमेज
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाभित्र प्लटिङ गर्दै अव्यवस्थित बसोबास हुन थालेसँगै खेतीयोग्य जमिन कटौती भएको छ ।
खेतीयोग्य जमिन मासिँदै जाँदा कृषि उत्पादन घटेको मात्र छैन, नगरको सौन्दर्य नै कुरुप बन्न थालेको छ ।
बढ्दो शहरीकरणसँगै रौतहटको चन्द्रपुर नगरपालिकाका धेरै स्थानमा प्लटिङको नाममा अव्यवस्थित बसोबास हुन थालेको छ ।
घरजग्गा व्यवसायीले सार्वजनिक जग्गा, पैनी कुलोसमेत मासेर मापदण्ड विपरीत प्लटिङ गर्न थालेका छन् ।
नगरपरिषद्बाट पारित नियमअनुसार बिस फिटको बाटो हुनुपर्नेछ तर आफैंले बनाएको नियम आफैंले लत्याउँदै जनप्रतिनिधिले १२ फिटको बाटोमै जमिन खरिदविक्रीका लागि सिफारिस गरेपछि अवैध धन्दा फस्टिँदै गएको छ ।
भूमीसम्बन्धी ऐन २०२१ को व्यवस्थाअनुसारको कृषियोग्य जमिनको संरक्षण भएको देखिँदैन ।
त्यस्तै संघ संस्था वा कम्पनीमार्फत् जग्गा प्लटिङ र विक्री वितरण गर्नुपर्ने भए पनि सो नियम पनि कागजमा मात्र सीमित देखिएको छ ।
यता चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले भने जग्गा प्लटिङ् व्यवसायीले मापदण्डविपरीत खोलेको बाटोमा वडाध्यक्षहरुको सिफारिस गैरजिम्मेबारीपना रहेकाले त्यसलाई नियन्त्रण गरिने दाबी गर्छन ।
अर्कोतिर चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सञ्जय काफ्ले भने नगरपरिषद्बाट सडक मापदण्ड पारित भए पनि नगरपालिकाबाट कुनै निर्देशिका नआएकाले सिफारिस गरेको तर्क गर्छन ।
शहरीकरणको नाममा धमाधम खेतीयोग्य जमिन खडेरी बनाउन थालेसँगै कृषि उत्पादनमा ह्रास आउन थालेको छ ।
खानेपानी, बिजुली, ढल, निकासलगायतका पूर्वाधारनिर्माण बिना जग्गा प्लटिङ गर्दा प्राकृतिक विपत्तिको जोखिम पनि उत्तिकै देखिन्छ ।
नियामक निकायमा बसेकाहरु नै कानुनका छिद्र समातेर अवैध धन्दालाई प्रश्रय गर्न थालेपछि यसको नियन्त्रण कसले गर्ने ? ठूलो प्रश्नचिह्न खडा भएको छ ।









प्रतिक्रिया दिनुहोस्