
-यादव आचार्य, ईमेज
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्वको सनातन परम्परा समाजमा भएको परिवर्तनसँगै हराउन थालेको छ । थारु जातीको सबैभन्दा ठूलो पर्व माघी सुरु भएको छ ।
माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा आपसमा हार्दिकता साटेर भब्यताकासाथ मनाउने गर्दछन् ।
यो पर्वका अबसरमा थारु समुदाय गाउँका मुख्य र मान्यब्यक्तिको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा छ । माघीको आगमनसँगै थारु समुदायको बाहुल्य रहेको पश्चिम तराईका जिल्लाहरुमा यसको रौनक बढेको हो ।
पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदाय अहिले माघीको रौनकमा छन् । माघीकै अवसर पारेर देश भित्र र बाहिर रहेकाहरु समेत घर फर्केर रमाईलो गर्ने गर्दछन् ।
माघि पर्वकै अवसरमा गाउँमा नयाँ वडघर वा अगुवा छान्ने, गुरुवा र चौकीदार चयन गर्ने प्रचलन छ । नेपालमा कमैया र कमलरी मुक्त घोषणा भैसकेपछीहरुको खुजुनीवुझुनी कार्य वन्द भएको हो ।
यसै दिन घरमा नयाँ कामको थालनी, घर छुट्निे, नयाँ किसान खोज्ने प्रचलन छ । हिजो आज थारु समुदायमा आएको चेतना, उच्च शिक्षाका कारण युवाहरुमा परिवर्तन आएसँगै यस्ता परम्पराहरुमा परिवर्तन हुन थालेको छ ।
माघी पर्वको आन्तरिक तयारी एक साता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन मासुको जोहो गरेर औपचारिक रुपमा माघको सुरुवात हुने गर्दछ ।
माघीमा रातभर मघौटा र ढुम्रा गित गाएर नाच्ने गाउने गरिन्छ । रातभर ढुम्रा गाएका थारु समुदाय एका बिहानै नजिकैको नदी, तलाउमा पुगेर विधि अनुसार स्नान गरी घर फर्किने गर्दछन् ।
स्नान गरेर घर फर्किएपछि उनीहरुले छोरी चेलीका लागि निसराउ भनिने खाने परिकार तयार गर्ने गर्दछन् ।
चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ । निसराउ तयार भएपछि ठुलासँंग आशिर्वाद लिएर माघि मनाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्