अजयकुमार साह (रासस)
धनुषा, फागुन ३० । वैशाख अर्थात् नयाँवर्षदेखि देशको एकमात्र रेलसेवा ‘जनकपुर–जयनगर रेल्वे’ सन्चालन गरिने तयारी थालिएको छ ।
रेल विभागकाअनुसार रेल सन्चालनको तयारीका लागि रेल सन्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सन्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सन्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो ।
त्यस्तै, रेल सन्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको मिश्रको भनाइ छ ।
सातै स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले बताए ।
मुख्य स्टेसनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा आफूहरु लागिपरेको मिश्रको भनाइ छ ।
उनले कुर्था र खजुरीलगायत केही स्टेसनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने बताए ।
विभागले सो मार्गमा रेल सन्चालनका लागि भारतबाट दुई रेल खरिद गर्ने जनाएको छ । रेल खरिदको प्रक्रियापनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए ।
मुलुककै एकमात्र रेलसेवा सन्चालनको तयारी अन्तिम चरणमा पुग्दैगर्दा नेपालमा रहेको ‘न्यारोगेज’ रेलको कोइला इन्जिन भने संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।
जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रमसँगै पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जा संरक्षणका अभावमा घाम र पानीले खिया लागिरहेको छ ।
नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाएपनि उनीहरूले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् ।
जनकपुरबाट करिब १५ किमि दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेसनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इन्जिन संरक्षण भएको छैन ।
रेल्वेको इतिहास
वि.सं. १९९४ मा तत्कालीन बेलायती शासकले महोत्तरीको जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजलपुराबाट भारतको जयनगर ५२ किमिसम्म सन्चालनमा थियो ।
वि.सं. २०५९ मा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएपछि रेलसेवा जनकपुरदेखि जयनगर २९ किमिमामात्र सीमित भयो ।
जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सन्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भएपनि नियमित थिएन ।
सुरुमा इन्धनकारूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसार–पसार गर्न थालेको थियो ।
वि.सं. २०५१ मा भारत सरकारको सहयोगमा १८ डिब्बासहित चार डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेलसेवा सन्चालन भएको थियो ।
रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत् राखियो । पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो ।
रेल्वेको पहिलो प्रबन्धककारूपमा टेकजंग थापा नियुक्त भएका थिए ।
वि.सं. २०६१ मा रेल्वेसेवालाई नेपाल रेल कम्पनीकारूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेकारूपमा चिनिएको छ ।
संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञान विषयका शिक्षक उपेन्द्र ठाकुर बताउँछन् ।
उनी भन्छन्–‘वैदेही नगरपालिकाको खजुरी स्टेसनमा म्युजियम निर्माण गरेर कोइला इन्जिन संरक्षण गरिएमा पर्यटक भित्र्याउन सकिन्छ ।’
सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नातेदारले २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् ।
त्यतिबेला एउटा इन्जिनको साटो तीन डिजेल इन्जिन उपलब्ध गराउने प्रस्तावसमेत गरिएको थियो ।
त्यसबेला तत्कालीन सरकारले आफैं संग्रहालय बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । पछि राजनीतिक परिवर्तनका कारण संग्रहालय निर्माणसम्बन्धी काम अघि बढ्न सकेन ।
जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुरा समेटेर सरकारलाई प्रतिवेदन बुझाएको थियो । जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदान–प्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रीवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो ।
समयमै मर्मत–सम्भार नगरिए यात्री तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि प्रतिवेदनमा थियो ।
पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि ८१ वर्षदेखि यातायातको प्रमुख मार्गकारूपमा रहेको जनकपुर–जयनगर रेल गत पाँच वर्षदेखि भने बन्द छ ।
संरक्षणका लागि नेपाल रेल कम्पनीका निमित्त प्रमुख तुलाबहादुर डाँगीसहित खटाइएका १७ कर्मचारीमध्ये कार्यालयमा एकजनापनि भेटिँदैनन् ।
घरमै बसेर तलब खाइरहेका रेल्वेका कर्मचारीको लापरबाहीका कारण करोडौंको सम्पत्ति क्षतिग्रस्त हुँदैछ ।
पर्यटकीय तथा धार्मिक नगरी जनकपुरधाम वा आसपासका क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनको संग्रहालय निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्ने नेपाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दीपेन्द्र चौहानले बताए ।
समाजशास्त्री नीलबहादुर लुम्रे नेपालको रेलको इतिहासका विषयमा भावी पुस्ता र मिथिलामा आउने पर्यटकलाई जानकारी दिनपनि संरक्षण गर्नुपर्ने बताउँछन् । यसलाई प्रदेश सरकारले संग्रहालय बनाएर राख्नुपर्ने उनको सुझाव छ ।
‘ब्रोडगेज’को तयारी
पुरानो न्यारोगेज रेल्वे बन्द भएपनि अहिले ‘ब्रोडगेज’ रेल्वेको तयारी भइरहेको छ ।
सबैभन्दा कम २ फिट ६ इन्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, १ मिटर चौडाइलाई ‘मिटरगेज’ र ५ फिट ६ इन्च चौडा भएको ‘लिक’लाई ‘ब्रोडगेज’ भनिन्छ ।
लिकको चौडाइ जति बढी भयो, त्यति नै गति र सन्तुलनमा राम्रो हुने जनाइएको छ ।
बेलायती सरकारले स्थापना गरेदेखि नै जनकपुर रेल्वे ‘न्यारोगेज’ ट्रयाकमा चल्ने गरेको थियो ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किमि ब्रोडगेज रेल लाइनको पहिलो चरणको निर्माण अन्तिम अवस्थामा पुगेको जनाइएको छ ।
पहिलो चरणअन्तर्गत् जयनगरदेखि धनुषाको कुर्थासम्म रेलसेवा सन्चालन हुनेछ । न्यारोगेजभन्दा ब्रोडगेजले प्रभावकारी हुने स्थानीय बासिन्दाको विश्वास छ ।
रेल कम्पनीका निमित्त प्रमुख डाँगीकाअनुसार अबको दुई महिनामा ‘प्लेटफर्म’सहित स्टेसन र हल्ट निर्माणले पूर्णता पाउनेछ । विभागले प्रत्येक स्टेसनमा रेल्वे कम्पनीका कर्मचारीलाई खटाएको छ ।
विगतमा ‘न्यारोगेज रेल’ सन्चालनमा रहेको बेला स्टेसन घरदेखि प्लेटफर्म पुरानो ढाँचाका थिए ।
अहिले बनिरहेको स्टेसनको डिजाइन भारतको राइट्स कम्पनीले बनाएको डिजाइनअनुरुप नै तयार भइरहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज विनोदकुमार ओझाले बताए ।
जनकपुरमा स्टेसन नभएर ‘हल्ट’ बनेको छ । स्टेसनमा रेलका दुई लिक हुन्छ र रेल बढी समय रोकिने गर्छ । हल्टमा एउटामात्रै रेल लिक हुन्छ र रेल छोटो समयका लागिमात्र रोकिने गर्छ ।
विगतमा जनकपुर अन्तिम स्टेसन थियो । ‘न्यारोगेज’ हुँदा तीनदेखि चारसम्म रेलको लिक बिछ्याइएको थियो । अहिले जनकपुर हल्टमा परिणत हुनाका साथै सिंगल लिक बिछ्याइएको छ ।
अन्तिम स्टेसन अब जनकपुर नभएर जनकपुरधाम उपमहानगरपालिकाकै कुर्था स्टेसन बनेको छ ।
जनकपुरधामको हल्ट आकर्षक देखिएको छ । प्रदेश नम्बर–२ को राजधानीसमेत भएकाले यात्रीको चाप अन्य स्टेसन तथा हल्टभन्दा बढी हुने हुनाले प्लेटफर्मदेखि हल्टसम्मको क्षेत्रफल ठूलो बनेको छ ।
आर्थिक गतिविधि बढ्ने
जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिबास रेलसेवा सन्चालनमा आएपछि कोलकाता बन्दरगाहबाट काठमाडौंको दूरी १३० किलोमिटर घट्नेछ ।
जयनगर–बर्दिबास रेलसेवा सन्चालन भएपछि स्थानीयस्तरमा आर्थिक गतिविधि तीव्र हुनेछ ।
जनकपुर–जयनगर रेलसेवा सन्चालन गर्नेक्रममा सरकारले तत्कालीन दरभंगा महाराज (भारत स्वतन्त्र हुनुपूर्वका राजा)सँग सन् १९४० मा भारतीय भूमि ‘लिज’मा लिएको थियो ।
दरभंगा महाराज र नेपाल सरकारबीच भएको भूमि सम्झौतामा रेलसेवा सन्चालन भएसम्म भारतीय भूमि नेपालले प्रयोग गर्न पाउने उल्लेख छ ।
सामान्य वर्षामा पनि हुलाकी सडक हिलाम्मे भइ सडक यातायात अवरूद्ध हुने भएकाले सेवाग्राहीलाई भारतको घुमाउरो बाटो भएर जिल्ला सदरमुकाम जनकपुर आउनुपर्ने बाध्यता छ । रेल विस्तार तथा स्तरोन्नतिले स्थानीय बासिन्दा हर्षित छन् ।
८ स्टेसन र ६ हल्ट
जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्गमा ८ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ ।
विभागको साइट कार्यालय जनकपुरकाअनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी ८ स्टेसन छन् ।
महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् ।
स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिनेछ । हल्टमा थोरै समयका लागि रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहनेछ ।
जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रहनेछ ।
जयनगरदेखि बिजलपुरासम्म रेलमार्ग निर्माण अन्तिम चरणमा रहेपनि बिजलपुरादेखि बर्दिबाससम्म १७ किमि रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ ।










प्रतिक्रिया दिनुहोस्