
-ध्रुव सागर शर्मा/ईमेज
दुई वर्षअघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा दुई वर्षको अवधिमा ३३ वटा नयाँ पर्यटक लक्षित होटल थपिएका हुन् । यी सबै होटलमा दुई अर्बभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ ।
म्याग्दीको सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङ तातोपानी, सिंगा, दानालगायतका ठाउँमा संचालन भएका होटलमा पर्यटकलाई आवश्यक पर्ने खाना, सुविधाजनक वास, इमेल इन्टरनेटको सुविधा, तातो चीसो पानी जस्ता सुविधा छन् ।
वार्षिक करीब ३० हजारको संख्यामा तेस्रो मुलुकका पर्यटक भित्रने म्याग्दीमा घरेलु तथा साना उद्योग विकास समितिमा २०५२ साल यता १ सय २० वटा होटल दर्ता भएका र अरु होटल खुल्ने क्रम जारी रहेको समितिका अध्यक्ष लिलाराम गौतमले जानकारी दिए ।
गौतमका अनुसार म्याग्दीका होटलमा २ सय ४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा मात्र नयाँ होटल दर्ता एवं पुरानाको नवीकरण वापत समितिले दुई लाख २८ हजार ९ सय राजस्व संकलन गरेको छ ।
म्याग्दीमा १ लाखदेखि ८ करोड रुपैयाँभन्दा बढी लगानी रहेका होटल खुलेका र म्याग्दीका सबैजसो गाउँमा खाने बस्ने सुविधा भएका होटल रहेको होटल व्यवसायी संघ म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्