Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सँगै जीउने–मर्ने कसम खाएका श्रीमान्ले नै जलाउने प्रयास गरेपछि…


0
Shares

सानो–तिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पुर्‍याइ भाग्छन भन्ने उनले सोचेकै थिइनन् ।

श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भएका नेपालगन्ज नगरपालिका–१२ का २२ वर्षीया सुनिता अहिले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको श्य्यामा छट्पटाइरहँदा यस्ता सपना देख्ने हरेक युवतीलाई सशंकित बनाउँछ ।

यता, आमा अस्पतालमा असह्य पीडामा रहँदा उता घरमा आमाको काख नपाउँदा उनकी डेढ वर्षीया छोरी तड्पिरहेकी छन् ।

गत विहीबार घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छातीमाथिको भाग र एउटा हात नराम्ररी जलेको छ ।

गाउँलेको सहयोगमा स्थानीय अस्पताल पु¥याइएकी सुनिताको त्यहाँ उपचार हुन नसकेपछि ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौं ल्याइएको वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जीतले बताइन् ।

सुनिताको अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सक डा. प्रितेश जैसवालले बताए । अहिले उनको सो अस्पतालको अतिसघनकक्षमा उपचार भइरहेको छ

धुवाँले फोक्सोमा कति असर गरेको छ भन्ने पत्ता लागेपछिमात्र अवस्थाबारे भन्न सकिन्छ’–उनले भने ।

छोराले बुहारी जलाउने प्रयास गरेलगत्तै फरार भएपनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौं ल्याएकी हुन् ।

‘हामी सँगै बस्दैनौं । घर अलि टाढा छ । उनीहरुबीच के भएर यस्तो घटना घट्यो मलाई थाहा भएन’–उनकी सासू दुखानाले भनिन् ।

उनकाअनुसार ६ महिनादेखि छेरा–बुहारी अलग–अलग बस्दै आएका थिए । दुई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाबाट सुनिता विवाह गरी नेपाल आएकी थिइन् । श्रीमान रिक्सा चलाउने गर्थे ।

यसैबीच, महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गइ सुनिता र उनका आफन्तलाई भेटी सम्पूर्ण उपचार सरकारले बेहोर्ने र दोषीलाई कुनै हालतमा उम्कन नदिने बताएका छन् ।

उनले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

‘अब कोहीपनि छोरी कुनै कारणले हिंसाको सिकार भइ उपचारबाट वञ्चित हुन नदिन मन्त्रालयले ‘क्विक रेन्सपोन्स’ टिम बनाएको छ । टिमले यस्ता हिंसात्मक घटनाबाट महिला उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउनबाट रोक्न काम गर्नेछ’–मन्त्री खड्काले भने ।

यसका लागि दुई हप्तामै नियमावली बनाई अपराधीलाई कारबाहीको कठघरामा ल्याउन सहयोग गर्ने उनले बताए ।