व्यक्तिगत नाममा जमिन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायत कारणले अहिलेसम्म पाँच हजार दुई सय ९८ भूकम्पपीडितले पहिलो किस्ताबापतको रु ५० हजार पाउन नसकेको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्लाका ७५ गाविस र पाँच नगरपालिकामा ६७ हजार सात सय ११ लाभग्राहीमध्ये ६२ हजार चार सय १३ जनासँग मात्रै अनुदान सम्झौता भएको छ । स्थानीय विकास अधिकारी टेकराज निरौलाले जिल्लाका १२ गाविसमा मात्रै पूर्ण रुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण गर्न अझै निर्देशिका नआएको बताए ।
अनुदान सम्झौता भएका गाविसमा मिल्चे, साल्धारा, विर्ता देउरालीलगायत पर्छन् । ‘विविध कारणले अझै पनि छुट भएका गाविस र नगरपालिकाबाट अनुदान सम्झौताका लागि आउने क्रम जारी छ,’ निरौलाले भने ।
उनले काभ्रेपलाञ्चोकमा पुनः निर्माणको कामबारे पनि कुनै प्रतिवेदन नआएको उल्लेख गर्दै दोस्रो किस्ताबापतको रकम आउन अझै केही समय लाग्ने बताए । (रासस)










प्रतिक्रिया दिनुहोस्